आज काग तिहार

अत्यन्तै बाठो र चलाख जीव हो काग

सफल खबर संवाददाता

शनिबार, ०९ कार्तिक २०७६, १३ : ०९
अत्यन्तै बाठो र चलाख जीव हो काग

काठमाडौं । हितोपदेशमा यत्रतत्र कागलाई एउटा प्रमुख र बाठो पात्रको रुपमा चित्रित गरिएको पाइन्छ । एसपको कथामा ‘एउटा घैलामा ढुंगा हालेर पानी पिएको’ कागको बुद्धिमत्ताको कथा पनि विश्वविख्यात नै छ । काग अत्यन्तै बाठो र चलाख जीव हो भनी आधुनिक विज्ञानले समेत स्वीकारिसकेको छ । कागले मानिसको अलग अलग अनुहारलाई चिन्न सक्छ ।
काग कोरभिडे परिवारमा पर्ने चरा हो । इतिहासकालदेखि नै मानिसहरुले कागको बुद्धिमत्तालाई मानेका छन् र चर्चा पनि गरेका छन् । अत्यन्तै चलाख हुने यो चरा धूर्त पनि हुन्छ । हिन्दू विश्वासमा कागलाई मृत्युको देउता यमराजको सन्देशवाहक मान्ने गरिन्छ ।
कागको मस्तिष्क औसत रुपमा हाम्रो बुढी औला जत्रो मात्रै हुन्छ । मानिसको तुलनामा त्यति सानो मस्तिक हुने कागको बुद्धिको कुरा गर्ने हो भने त्यो एउटा सात वर्षे बालक जत्तिकै चलाख हुने कुरा वैज्ञानिकहरु बताउँछन् ।
कुनै पनि जीवको मस्तिष्कको तुलना मानिससँगको मस्तिष्कको आकारको आधारमा होइन, त्यही प्राणीको शरीरको आकारको सापेक्षतामा तुलना गरिनुपर्छ । यस अर्थमा शरीरको आकारसँग तुलना गर्दा कागको मस्तिष्क र एउटा स्तनधारी जीव, जसमा मानिस पनि पर्दछ, उस्तै उस्तै हुन आउँछ ।युनिभर्सिटी अफ वाशिंगटन्स एभिएसन कन्जर्भेसन ल्याबका प्रोफेसर जोन माज्र्लुफका अनुसार, वास्तवमा काग उड्ने बाँदर जस्तै हो । चाहे त्यो मैत्रीपूर्ण वा फिल्ममा देखाइने दुष्ट बाँदर किन नहोस्, त्यसको तपाईंप्रतिको व्यवहार तपाईंले त्यो काग वा त्यसका साथीलाई कस्तो व्यवहार गर्नुभएको छ भन्ने कुरामा भरपर्छ ।

मानिसको अनुहार याद गर्छ
कागले मानिसको अलग अलग अनुहारलाई चिन्न सक्छ । प्रोफेसर माज्र्लुफको टीमले कागहरुलाई समात्यो, त्यसलाई चिन्ह लगायो र छोडिदियो । उनका टीमका सदस्यहरुले भिन्नभिन्न खालका मास्कहरु लगाएका थिए । पछि कागको समूहले त्यस्ता मास्क लगाएका मानिसहरुमाथि आक्रमण गरेका थिए । रोचक कुरा चाहिँ के थियो भने, कागले ती मास्कधारीहरुमाथि मात्रै आक्रमण गरेका थिए, जसले उक्त टीमका सदस्यले कागलाई पक्रने र छोड्ने क्रममा ती मास्कहरु प्रयोग गरेका थिए । कागले मानिसको अनुहार याद गर्छ र प्रतिशोध साँध्छ । कागले आफूलाई माया गर्ने मानिसलाई पनि चिन्ने गर्छ ।
प्रो. माज्र्लुफको अध्ययनको दौरानमा के देखियो भने उनको टीमले पक्राउनै नगरेको कागले पनि टीमका सदस्यहरुमाथि आक्रमण गरेका थिए । तर कागहरुले एकअर्कालाई आफूहरुलाई दुःखदिने व्यक्तिका बारेमा कसरी बताउँछन् भन्ने कुरा चाहिँ अहिलेसम्म कमै मात्र बुझिएको छ । तर उक्त टीमको निष्कर्षअनुसार, कागले कराउँदा पैदा हुने घनत्व, त्यसको लय र समयमा उनीहरुको भाषा आधारित रहेको हुन्छ ।

एउटा प्रयोग
काग बाठो हुन्छ कि हुँदैन त भनेर जाँच्नका लागि वैज्ञानिकहरुले एउटा प्रयोग गरेर हेरे । उनीहरुले एउटा गहिरो ट्युबमा एउटा तैरिने बस्तु हालिदिए । त्यस प्रयोगमा उपयोग गरिएका कागहरुले घनत्व बढी भएका वस्तुहरु ट्यूबमा ल्याउँदै त्यो तैरिने वस्तु उनीहरुले नभेटेसम्म खसाल्दै गए । त्यसक्रममा कागहरुले पानीमा तैरिने वस्तुलाई रोजेनन्, उनीहरुले खालि पानीमा डुब्ने बस्तुमात्रै छाने । उनीहरुले त्यो ट्यूबको मुखमा नअटाउने वस्तु पनि छानेनन् ।
हेक्का राख्नुपर्ने कुरा के छ भने गह्रौं वस्तुले पानीलाई विस्थापन गर्छ भन्ने ज्ञान ती कागहरुमा रहेको देखियो । यो ज्ञान सामान्यतः ६–७ वर्षको उमेरमा बच्चाहरुले सिक्ने गर्छन् ।
कागले ट्राफिक लेनमा ओखरहरु खसाउने गरेको पनि पाइएको छ ताकि त्यहाँ गुड्ने गाडीको चक्काले त्यसलाई फुटाइदियोस् । कतिसम्म भने कागले कतिखेर ट्राफिक लाइट हरियो, रातो वा पहेंलो बल्छ भन्ने कुराको समेत हेक्का राख्छ र त्यहीअनुसार उनीहरुले रातो बत्ती बलेपछि मात्रै गाडीले फुटाएको ओखर टिप्न जान्छ । यसबाट के देखिन्छ भने काग ऊजस्तै बुद्धिराख्ने अरु प्राणीहरुभन्दा टाठो पनि हुन्छ । कागले रेष्टुराँको समयतालिका समेत याद गर्ने गरेको पाइएको छ ताकि फोहोर फ्याँक्ने दिन सबैभन्दा पहिले गरेर खानेकुरा टिप्न सकियोस् ।

अनौठो स्मरणशक्ति
कागको बथान खानेकुराको खोजीमा यत्रतत्र उड्ने गर्छन् । यस दौरानमा कतिपय कागहरु मौसमअनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइसराइ गर्ने र पछि पुनः पहिलेको ठाउँमा फर्केन पनि गर्छन् । यस क्रममा कागको बथानले त्यस्तो स्थानलाई पन्छाउने गर्छ वा त्यस क्षेत्रबाट जाँदैन, जुन ठाउँमा उनीहरुमाथि पहिले कुनै बेला आक्रमण भएको वा आफ्ना कुनै साथीलाई मारिएको होस् ।
त्यो क्रम कागको बथानको कैयौं पुस्तासम्म पनि कायमै रहन्छ । यसको अर्थ के हो भने कागले आफ्ना शाखा सन्तानलाई समेत कुनै पनि कुरा वा घटनाक्रमहरुको जानकारी हस्तान्तरण गर्ने गर्छ । कदाचित त्यस्तो पहिले आफूमाथि आक्रमण भएको वा क्षति भएको ठाउँबाट पार गर्नुपर्यो भने पनि कागको त्यो बथान त्यस्तो क्षेत्रमा अत्यन्तै माथिल्लो उचाईमा गएर उठ्ने गर्छन् ताकि उनीहरु मानिसले गर्न सक्ने हमलाबाट बच्न सकून् ।

शोक मनाउँछ
हामी हाम्रा प्रियजनहरुको मृत्युमा भेला भएर शोक मनाउने गर्छौं । कागले पनि आफ्ना समूहको कुनै काग मर्यो भने त्यसरी नै शोक मनाउने गर्छ । उनीहरु मृतकको वरिपरि जम्मा भएर ठूलो स्वरमा एकहोरो कर्कश आवाज निकाल्ने गर्छन् । अनुसन्धानकर्ताहरुका अनुसार त्यसरी कागले भेला भएर कराउनुको अर्थ उनीहरुले शोक मनाएको नै हो । त्यसका साथसाथै, उनीहरुले त्यो शवको बारेमा बताएर अरु कागहरुलाई सम्भावित खतराका बारेमा पनि सचेत गराउने काम गरिरहेको हुन्छ ।

दण्डित गर्छ
हामी मानिसहरु आफ्नो समूहका कुनै व्यक्तिले गलत व्यवहार गर्यौं भने उसलाई दण्डित गर्छौं, समूहबाट बाहिर गर्छौं । कागले पनि ठीक त्यसरी नै आफ्नो समूहका खराब व्यवहार गर्ने, स्वार्थी व्यवहार देखाउने कागलाई दण्डित गर्छ, समूहबाट बहिष्कार गर्ने गर्छ ।
सन् २०१५ गरिएको एक प्रयोगात्मक अध्ययनमा खानेकुरा चोर्ने कागलाई समूहका अन्य कागहरुले असहयोग गर्ने गरेको, त्यसलाई समूहबाट बहिष्कार गरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस