Safal Khabar - हरेक संवाददाताको सपना "ब्रेकिङ न्यूज"
शनिबार, ३० कार्तिक २०७६ (Saturday, 16 November, 2019)
हरेक संवाददाताको सपना "ब्रेकिङ न्यूज"
मङ्गलबार, ०५ कार्तिक २०७६, १२ : ५३
हरेक संवाददाताको सपना "ब्रेकिङ न्यूज"

– सोमा बसु

यस्तो लाग्छ– समय ब्रेकिङ न्यूजको हो । सञ्चारमाध्यमलाई होड चलेको छ अरुले भन्दा छिटो समाचार दिने । टेलिभिजन र अनलाइन मिडियाको विस्तारसँगै यो होडबाजी झनै तीव्र भएको छ । हरेक संवाददाताको सपना बनेको छ, ब्रेकिङ न्यूज दिने । 

यस्तो अवसर हामी संवाददाताहरूले निकै उत्साह र केही अधीरताका साथ उपयोग गरिहाल्छौं । तर, धेरैजसो प्रसंगमा हाम्रा सम्पादकहरू ‘हामीले ठीकै गरिरहेको तर पर्याप्त नभएको’ भनिरहन्छन् । उनीहरू हामीलाई हामीले ल्याएको सूचना भन्दा पनि परसम्म पुग्न र थप केही पत्ता लगाउन जोड दिइरन्छन् । 

तर सत्य सँधै ब्रेकिङ न्यूजमा हुँदैन । त्यो भन्दा पर खास सत्य लुकेको हुन सक्छ जो मौन र अप्रकाशित हुन्छ । समाचार त्यही मौन सत्य हो । म सन् १९९४ को एउटा प्रसंग सम्झन्छु । 

दिल्लीको ‘अल इन्डिया इन्स्ट्च्यिुट अफ् मेडिकल साइन्सेज’को अत्याधुनिक शल्यक्रिया कक्षमा भारतले इतिहास रचेको थियो । कार्डियोभास्कुलर सर्जन डा। पी। भेनुगोपाल र २० जना चिकित्सक सम्मिलित उनको समूहले देशमै पहिलोपल्ट मुटु प्रत्यारोपण गरेको थियोे ।

त्यतिबेला चिकित्सकहरूले अपरेशन गरिरहँदा जम्मा भएका पत्रकारहरूलाई आइसीयूको सीसाबाट हेर्न दिइएको थियो । अपरेशन सफल भएपछि आयोजित पत्रकार सम्मेलनमा शल्यक्रियाबारे विस्तृतमा बताइयो । 

पत्रकार सम्मेलनपछि म चकित भएर कार्यालय फर्किएँ । समाचार तयार पार्नका लागि केही नोट पनि थिए मसँग । तर जब मैले मेरा ब्यूरो चिफ हरिश खेरलाई यो सफलताबारे विस्तृतमा बताएँ, उनले सोधे, “अनि खोइ त वास्तविक समाचार ?”
म अवाक् भएँ । 

“भोलि सबैजसो पत्रिकाले यही समाचारलाई प्रमुख स्थान दिएर छाप्नेछन्”, मैले झिनो प्रतिवाद गरेँ । 

उनी मुस्कुराए र मलाई अस्पताल पुगेर मुटु दिने दाता को हो पत्ता लगाउन भने । 

ब्यूरो चिफका कुरा सुनेर म निकै उदास भएँ । मैले सोचेजसरी समाचार प्रकाशित हुन गइरहेको थिएन । तर त्योभन्दा पनि दुःखको कुरा त के थियो भने डाक्टरहरूले पहिले नै हामीलाई दाताको परिचय दिनु मेडिकल आचारसंहिता विपरीत हुने बताएका थिए । 

हाम्रा स्रोतहरूको सहयोगमा कसरी कसरी फोटोग्राफर शंकर चक्रवर्ती र मैले डाक्टरको एप्रोन फेला पार्‍यौं । अनि कसरी अभिलेख शाखामा पसेर दाताको नाम र ठेगाना पत्ता लगायौं भन्ने अर्को कथा हो । 

हामी राती १० बजेतिर दिल्लीको बाहिरी क्षेत्रमा रहेको दाताको घरमा पुग्यौं । त्यहाँ एक जना मानिस तीनजना स–साना छोरीहरूसहित शोकमा थिए । जब हामीले उनलाई हामी त्यहाँ पुग्नुको उद्देश्य सुनायौं, उनी भक्कानिए । उनले हामीसँग सारा प्रशंसा जति डाक्टरहरूले हडपेको गुनासो गरे । 

उनकी ३५ वर्षीया श्रीमती चरम जलवियोजन भएर बितेकी थिइन् । डाक्टरहरूले उनीसँग अंग दान गर्न अनुरोध गरेका थिए । 

“म उनका मुटु, मृगौला, आँखा र कलेजो दिन तयार भएँ जसले गर्दा अरू ६ जना बाँच्न सक्छन् । तर हामीबारे केही पनि उल्लेख गरिएन”, दिल्ली प्रहरीमा जागिरेसमेत रहेका उनले भने । 

उनीसँग कुरा गरेर हामी कार्यालय फर्कंदा मध्यरात भइसकेको थियो । ब्यूरो चिफ खेर र समाचार सम्पादक वाइ।पी। नरौला हामीलाई कुरेर बसेका थिए । 
“छिटो लेख”, मलाई भनियो । 

तर मेरो दिमाग हिउँजस्तै जमेको थियो । 

खेर मसँगै बसे । घटनाबारे विस्तृतमा भन्न भने र समाचारका शुरूआती पंक्तिहरू लेख्न सहयोग गरे ।

अंग दान दिएकी ती महिलाको तस्वीर सहित ‘राजेश्वरी मृत्युपछि पनि जीवित छिन्’ शीर्षकमा पहिलो पानाको मुख्य समाचार तयार भयो । 

बिहान २ बजे कार्यालयबाट फर्कंदा हामीलाई थाहा थियो, हामीसँग अरू कसैसँग नभएको तर सबैको मन छुने कथा छ । त्यति कल्पिंदा पनि हामी उत्साहित भएका थियौं । 

भोलिपल्ट समाचार छापियो । ‘द हिन्दू’मा हाम्रो समाचार छापिएपछि प्रहरी कमिश्नर, मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीले दाताको परिवारलाई सम्मान गरे । मुटु पाएको व्यक्तिको परिवारले ती स–साना बच्चीहरूलाई उपहार लिएर गयो । 

डाक्टरहरूले मुटु प्रत्यारोपण गरिएको व्यक्ति तीन महिना बाँच्छ भनेका थिए, तर उनी १५ वर्ष बाँचे । सात वर्षसम्म दुवै परिवारलाई मैले पछ्याइरहेँ ।

चिकित्सक संघले मलाई धेरै पटक बेवास्ता गर्‍यो । तर त्यसपछिका दाताहरूको परिवार ‘द हिन्दू’मा गौरवबोधका साथ आइरहे । हामीले पनि उनीहरूको पवित्र कर्मलाई प्रोत्साहन गर्दै समाचारहरू प्रकाशन गरिरह्यौं । त्यसले अरु परिवारहरूलाई पनि अंग दान गर्न प्रोत्साहन गरिरह्यो । 

आज पनि म सोच्ने गर्छु हामीले मेडिकल संहिता भंग गर्नु र दाताको परिवारसम्म पुग्नु गलत त थिएन ? तर हामीले गरेको कामले कसलाई पो नोक्सान भयो र ? 

(भारतको दैनिक ‘द हिन्दू’ को १८ अक्टोबर २०१९ को अंकमा प्रकाशित लेख) 

प्रतिक्रिया दिनुहोस