मन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०७६, १४ : ३७
मन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेपालगञ्‍ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र  संस्कृति, पर्यटन तथा  नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने  ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ललितपुरको पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा उनीमाथि आक्रमण हुन सक्ने भन्दै ललितपुर प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

पत्रकार सम्मेलन गर्दैगर्दा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ । नेपालका लागि नेपालीको कार्यालयमा आइतबार दिउँसोआयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।

आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरेको छ । ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइएपनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएको कारण घटना घट्न पुगेको बताए ।

सुरक्षा स्थिति हेरेर शाहीलाई छाडिने प्रहरीको भनाइ छ । शनिबार ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई दुर्व्यवहार गर्दै भिडियो खिचेको थियो ।

प्रतिक्रिया दिनुहोस