केपी ओली र माधव नेपालबीच बालुवाटारको त्यो जम्काभेट

नेकपाको सचिवालय बैठकमा न ओलीले बोलाए, न त माधव नेपाल नै बोले, एकाअर्कालाई हेरे अनि फिस्स हासे मात्र

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ०९ : ४२
केपी ओली र माधव नेपालबीच बालुवाटारको त्यो जम्काभेट

काठमाडौं । २० दिन अघि चर्काचर्की गरेर बाझेका प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधव नेपालका बीचमा २५ भदौंमा वालुवाटारमा भेट भयो । त्यो पनि एक्लाएक्लै होइन, पार्टीका अन्य नेताहरु प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामवहादुर थापा र विष्णु पौडेलसँगै ।

पार्टी सचिवालय बैठकको अवसर पारेर यी दुई नेताका बीचमा भेट भएको थियो । तर पनि खास सम्वाद भने नभएको एक सचिवालय सदस्यले बताए ।

‘ब्यक्तिगत कुराकानी भएन, बैठकमा सामुहिक छलफल गर्दा मात्र दोहोरो सम्वाद भएको थियो,’ सचिवालयका एक सदस्यले सफलखबरसँग भने,–‘दुवै नेता एक अर्कासँग खास खुलेनन् ।’

५ भदौंमा बालुवाटारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालका बीचमा चर्काचर्की परेको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर चर्केको दुई नेताको बाझाबाझ मिलाउन पार्टीका अर्का अध्यक्ष प्रचण्डले नै हस्तक्षेप गर्नुपरेको थियो ।

त्यसपछि उपचारका लागि सिंगापुर पुगेका ओली २० भदौंमा स्वदेश फर्किए । त्यसयता उनले पार्टीका अन्य नेताहरुलाई बालुवाटार निम्ताएर आपसी परामर्श गरे । तर उनले माधव नेपाल निम्ताएनन् ।

त्यो दिनको भेट पनि पार्टी बैठकका कारण मात्र जुरेको थियो । दुई नेताले मुखामुख गरेर फिस्स हासेपनि थप कुराकानी नभएको एक नेताले बताए ।

‘उहाँहरु मुखामुख गर्नुभयो, फिस्स मात्र हास्नुभयो, तर खास थप बोल्नुभएन, एक अर्काेले केही सोध्नु पनि भएन,’  ति नेताले भने ।

प्रधानमन्त्रीको स्वास्थ्यकै विषयमा बाझाबाझ भएपछि न त प्रधानमन्त्रीले माधव नेपाललाई आफनो स्वास्थ्य अवस्था बताए, न त नेपालले नै प्रधानमन्त्रीलाई सोधे । ‘प्रधानमन्त्रीलाई कस्तो छ भनेर सोध्यौं, फेरि झर्किने र बाझिने पो हो की भनेरै माधव कमरेडले यस विषयमा सोध्न नखोज्नु भएको देखियो,’ बरु प्रधानमन्त्रीले नै बैठकलाई सम्वोधन गर्ने क्रममा आफनो स्वास्थ्यका बारेमा जानकारी गराए ।

‘म नियमति काम गर्न सक्ने भएर फर्केको छु, सिंगापुरमा प्लाज्मा फेरेसिस प्रक्रिया अनुसार उपचार गरे । आजै मात्र त्यसको ट्युव टिचिङ पुगेर निकालेको छु, ट्युव निकाल्दा सामान्य ज्वरो आउने रहेछ, अहिले ज्वरो आईरहेको छ, तर चिकित्सकहरुले ठिक हुन्छ भनेका छन्, सुधार भएको छ भनेका छन्,’ प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा वेलिविस्तार लगाईरहदा पनि माधव नेपाल चुपचाप बसेर सुनिरहे ।

ति नेताका अनुसार, नेपालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा चुपचाप ओलीले पार्टी वैठकमा गरेको विफ्रिङ सुन्ने बाहेक केही बोल्दै बोलेनन् ।

जब प्रदेश २ को सपथ ग्रहणका विषयमा सिराहमा परेको झगडाको प्रसंग पार्टी बैठकमा उठ्यो । त्यसपछि मात्र माधव नेपाल बोल्न अगाडी सरेका थिए ।

नेपालले पार्टीका जिल्ला कमिटि गठनमा पर्याप्त छलफल बिना जर्बजस्ती गर्न खोज्दा समस्या आएकोले त्यसलाई समाधान पार्टीले सिरियस्ली लिएर गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि मात्र नेपाल लगत्तै ओलीले बोलेका थिए, – माधव कमरेडले उठाएको त्यो विषयमा पार्टी सिरियस छ । अर्काे बैठकमा अकिल समिक्षा गरौं ।

यत्ति हो यी दुई नेताका वीचमा वालुवाटारमा भएको सम्वाद । ‘त्यसबाहेक उहाँहरुका बीचमा खास सम्वाद दोहोरो हुने गरी बैठकमा पनि देखिएन,’ नेकपा सचिवालयका एक सदस्यले भने ।

बालुवाटारको त्यो दिनको सचिवालय बैठक जम्माजम्मी ४० मिनेट जति चलेको थियो । प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्डले चिनियाँ विद्ेशमन्त्रीको नेपाल भ्रमण र त्यसक्रममा भएका भेटघाटको विफ्रिङमा समय खर्चेपछि बैठक दल दर्ताको जिम्मा महासचिवलाई दिने निर्णय गर्दै समापन गरिएको थियो ।

बैठक सकिएपछि पनि प्रधानमन्त्री र नेपालका वीचमा कुराकानी नै भएन । अघिपछिका भन्दा त्यस दिनको बैठक प्रधानमन्त्रीको सयन कक्ष छेउमै रहेको बैठक कक्षमा बसेको थियो । अघिपछि तल्लो तलाको हलमा बैठक बसेपनि त्यसदिन माथिल्लो तलामा सचिवालय बैठक बसेको थियो ।

नेपाल बैठक सकेर सरासर बाहिर निस्किए । उनले पार्टीका अन्य नेतासँग बिदावारी भएर निस्केपनि प्रधानमन्त्रीसँग कुरा गर्न सकेनन् । प्रधानमन्त्रीले पनि गरेनन् ।

‘उहाँहरुका वीचमा सम्वादहिनता नै देखियो, सौहार्दपूर्ण वातावरणमा सम्वाद हुन सकेन । दुवैले आ आफनो तर्फबाट गल्ती भएको महसुस गरेको जस्तो तर सम्वादहिनताको गाठो फुकाउने मध्यस्थता गरिदिए हुन्थ्यो भन्ने चाहेको जस्तो मात्र देखियो,’ सचिवालयका ति सदस्यले भने ।

त्यसपछि बाहिरिएका नेपाल र ओलीका बीचमा फेरि थप कुनै सम्वाद र देखाभेट नभएको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस