सामुदायिक विद्यालय किन उठेनन् ? कहाँ चुक्यौँ ? अब खोजौँ : पूर्व उर्जामन्त्री जनार्दन शर्मा

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १४ : १४
सामुदायिक विद्यालय किन उठेनन् ? कहाँ चुक्यौँ ? अब खोजौँ : पूर्व उर्जामन्त्री जनार्दन शर्मा

चितवन । पूर्व उर्जामन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै सामुदायिक विद्यालय माथि उठ्न नसक्नुका कारणहरुको खोजी गर्नुपर्ने बताउनुभएको छ । 

आज नारायणी नमुना मावि भरतपुरमा भएको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेता शर्माले समृद्ध नेपाल र सुखी नेपालीसँग शिक्षाको तालमेल मिल्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘सामुदायिक विद्यालय अझै कमजोर छन्, हामी गुणस्तरमा चुकिरहेका छौँ, अब यसको खोजी गरिन जरुरी छ । 

उहाँले सामुदायिक विद्यालयहरु सधैँभर कमजोर भएर बस्न नसक्ने बताउनुभयो । उहाँले एकदुई वटा सामुदायिक स्कुल राम्रो भएर मात्र नपुग्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘शिक्षालाई नैतिकता, राष्ट्रियता र आत्मनिर्भरतासँग जोड्नुपर्छ ।’ 

कार्यक्रममा पूर्वमन्त्री शर्माले अबको शिक्षाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्न सक्ने खालको हुन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमीकमजोर कहाँ छन् ? खोतल्नुपर्छ । फड्को मार्ने खालको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक छ ।’ 

कार्यक्रममा उहाँले विद्यार्थी देशपति माया र समर्पित हुने भावनाको विकास गराउँदै शिक्षाको गुणस्तरको लागि अघि बढ्न शुभकामनासमेत दिनुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘सबै नेतृत्वको विकास शिक्षाले नै गर्ने भएकोले यसलाई अघि बढाउनुको विकल्प छैन, सबै लाग्नुपर्छ नेपालको शिक्षाले अवश्य कोल्टे फेर्नेछ ।’

प्रतिक्रिया दिनुहोस