सेनाले बनाएको हावाहुरी प्रभावितको घर हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १६ : १३
सेनाले बनाएको हावाहुरी प्रभावितको घर हस्तान्तरण

वीरगन्ज । गत चैतमा आएको हावाहुरी तथा चक्रवातबाट घरबारबिहीन भएका बारा र पर्साका प्रभावितको घर नेपाली सेनाले निर्माण सम्पन्न गरेसँगै बुधबार हस्तान्तरण गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रमकाबीच प्रभावित स्थानीय तहका प्रमुखमार्फत स्थानीयलाई घर हस्तान्तरण गरेका छन् ।

जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो ।

जनता आवास कार्यक्रम अन्तर्गत १४५३ घर निर्माण गर्नका लागि प्रति एकाई आवासको लागत जम्मा ५ लाख ४५ हजार ९ सय ८५ रुपैया कायम गरी कूल जम्मा रु।७९ करोड ३३ लाख १७ हजार ४ सय ८३ रुपैया नेपाली सेनालाई उपलब्ध गराइएको थियो । तर नेपाली सेनाले उत्कृष्ट निर्माण सामाग्री प्रयोग गरी सूलभ र आकर्षक घर निर्माण गर्दा पनि कार्यदलले कन्टीजेन्सीको रु।२७ हजार २ सय ९९ रुपैया प्रति घर र सामाग्रीहरुबाट बचत रु। ३३ हजार ७ सय ९८ रुपैया गरी जम्मा रु।६१ हजार ९७ रुपैया बचत गर्न सफल भई प्रति घर रु ४ लाख ८४ हजार ८ सय ८८ रुपैयामा  निर्माण गरेको हो ।

बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।

उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण  र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगित गर्नुपरेको थियो ।

कार्यक्रममा प्रधान सेनापति  पूर्णचन्द्र थापा, प्रदेश नं ४ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी  स्थानीय जनजनप्रतिधिको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस