बैंकहरुको बदमासी

देव विकास बैंकमा रकम हिनामिना, कुमारीमा कर्मचारीमाथि शोषण

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, १३ : ०८
देव विकास बैंकमा रकम हिनामिना, कुमारीमा कर्मचारीमाथि शोषण

काठमाडौं । चिनियाँ ह्याकरहरुले एटीएमको सिस्टम बिगारेर करोडौँ रुपैयाँ डकैती गरेको घटना सेलाउन नपाउँदै नेपाली बैंकहरुको बदमासी सार्वजनिक हुन थालेका छन् । यसरी बदनाम बैंकहरुको सूचीमा कुमारी बैंक र देव विकास बैंक अग्रस्थानमा रहेका छन् ।

नागरिकको पैसामा लुट मच्चाएका बैंक तथा वित्तीय संस्थाका अधिकारीलाई नियमनकारी निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले समेत कुनै कारवाही गर्नेतर्फ चासो देखाएको छैन । आगामी चैतमा विदा हुन लागेका गर्भनर चिरञ्जीवी नेपालको अक्षमताका कारण बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई लुटपाटको लागि समेत सहज भएको छ ।  

जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई १८ करोड बराबरको रकम हिनामिना गरेको आरोप लागेको छ । नागरिकले खाई नखाई बैंकमा जम्मा गरेको रकम हिनामिना गरी लुटपाट मच्चाएको भन्दै चौतर्फी दबावपछि मात्रै उनको विषयमा चासो र खोजी शुरु भएको हो । उनलाई बैंकको करीब १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुढाथोकीले बैंकको १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो । बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । 

आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि  नेपालगञ्ज पठाइएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाएको हो ।  घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत थिए । डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ । बैंकको पैसामा चरम लुटपाट गरी व्यक्तिगत काममा खर्च गरेका उनको विषयमा यसअघि नै गुनासो आएपनि कुनै सुनुवाई गरिएको थिएन । 

कुमारी बैंकले ३५ दिन अगाडि सूचना दिएर जागिर छाड्दा ३ महिनासम्मको तलब काट्ने गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ३५ दिन अगाडि लिखित जानकारी दिएपछि राजीनामा गर्दा उसले पाउनुपर्ने सुविधा दिनुपर्ने हुन्छ । तर त्यस्तो कुनै सुविधा नै नदिई कुमारी बैंकले कर्मचारीको चर्को श्रम शोषण गरेको पाइएको छ । 
राणा परिवारको बैंकको रुपमा परिचित कुमारीको वित्तीय अवस्था नराम्ररी  खस्किदै गएको छ । बालुवाटार जग्गा प्रकरणमा जोडिएका भूमाफियाहरु  जस्ता जग्गा दलाल तथा भ्रष्टहरुले व्यक्तिगत हित र नाफाका लागि बैंकमा नागरिकले खाई नखाई जम्मा पारेको रकममा समेत हिनामिना गरेको पाइएको छ ।

जनतालाई पनि लुट्ने कुमारी बैंकले भने जागिर छाड्ने कर्मचारीलाई ३ महिना बराबरको तलब काटेको भेटिएको छ । ३५ दिनको सूचना दिएर राजीनामा गर्दा ३ महिना बराबरको तलब बैंकले काटेको बैंकबाट राजीनामा गरेका एक पीडित कर्मचारीले बताए । 

‘लिखित रुपमा राजीनामा दिएपछि एचआर विभागबाट एक महिना थप काम गर्नुपर्ने भनियो, एक महिना काम गरेपछि दिनुपर्ने तलब दिइएन, बिदा बापतको कुनै पनि पैसा आएन, यसरी तीन महिना बराबरको तलब बैंकले हामीलाई दिएन’ नाम नबताउने सर्तमा कुमारी बैंक छाडेका एक कर्मचारीले जानकारी दिए । 

अहिले अर्को बैंकमा कार्यरत ती कर्मचारी काठमाडौं उपत्यकाका होइनन् । काठमाडौं बाहिरको शाखामा कार्यरत ती कर्मचारीले मानव संसाधन विभागमा काटिएको तलब सुविधा फिर्ता गर्न माग गर्न टेलिफोन गरे । एचआर विभागले उनलाई पैसा दिन नसकिने र बैंकको नियम अनुसार पैसा काटिएको जुन ठाउँमा उजुरी गर्ने हो त्यहाँ उजुरी गर्दा हुने जवाफ दिएको गुनासो गरे । 
‘राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा जाँदा केन्द्रीय कार्यालयमा उजुरी गर्नुहोस् भनेर जवाफ आयो, काठमाडौंबाट टाढा रहेको हुँदा उजुरी दिन पाएको छैन’ उनले गुनासो गरेका छन् । कुमारी बैंकले जागिरबाट राजीनामा दिँदा न्यूनतम ३ महिनाको तलब काट्ने गुनासो बैंक छाड्ने अरु कर्मचारीको पनि रहेको छ । 

कम्पनीको एचआर विभागका प्रमुख रोहित सिंहले कुनै पनि कर्मचारीले जागिर छाड्दा तीन महिनाको तलब नकाटिएको जिकिर गरेका छन् ।  कर्मचारीलाई बैंकको खर्चमा तालिम लिएपछि निश्चित अवधी काम गर्नुपर्ने हुन्छ, त्यो अवधि पूरा नभए तालिममा लागेको खर्च बराबरको रकम कर्मचारीबाट तिराउने गरिएको उनको कथित प्रतिक्रिया रहेको छ ।  

कर्मचारीलाई बैंकले महंगो खर्चमा तालिम दिने र तालिम लिएपछि कर्मचारीले छाड्ने गरेको हुँदा त्यो शुल्क मात्र लिने गरेको बैंकको दावी छ । कुनैबेला दिनुपर्ने तलब नगएपनि कर्मचारीले गर्ने गुनासोको आधारमा तलब फिर्ता गर्ने गरिएको छ,यसरी तीन महिनाको तलब काटिएको भन्ने नभएको बैंकका एक अधिकारीले बताए । तर ३५ दिन अगाडि सूचना दिएर बैंक छाडेका ती कर्मचारीले भने आफूले बैंकले उपलब्ध गराएको महंगो तालिम कुनै पनि नलिएको दाबी गरेका छन् । 

नेशनल बैंकिङ इस्टिच्यूट नामक एक गैरसकारी निकायले दिने एक दिने तालिमममा सहभागी भएको देखाएर बैंकका कर्मचारीको सेवा सुविधामा लुटपाट गरिएको छ । ‘एनबिआईले दिएको एक दिनको तालिम लिएको हो,जसको खर्च तीन महिनाको तलब काटिने गरेर हुँदैन, १० हजार रुपैयाँ काटिएको भए विश्वास हुन्थ्यो, तीन महिनामा पाउने ६७ हजार बराबरको रकम काटेको छ’ कुमारी बैंकबाट पीडित बनेका कर्मचारीले गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस