विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

शुक्रबार, १३ भदौ २०७६, १२ : २७
विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

काठमाडौँ । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।
कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आइतबार कुवेत प्रस्थान गर्नेछ ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोटअन्तर्गत नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै चिनियाँ ताइपेसँग पनि भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग यसअघि पनि खेलिसकेको बताउदै नतिजा आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै एन्फा अध्यक्ष शेर्पाले अष्ट्रेलियाबाहेक अन्य टिमसँग नेपालले खेलिसकेको कारण उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्किनेमा आफू आशावादी रहेको बताउनुभयो ।
राखेप सदस्यसचिव सिलवालले कुवेत हाम्रै स्तरको टोली भएको कारण दबाबरहित खेल्न आग्रह गर्नुभयो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् । 
सहभागी खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । 
त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । –रासस

प्रतिक्रिया दिनुहोस