काठमाडौ । नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूलाई आगामी चैत मसान्तभित्र ऋण चुक्ता गर्न अन्तिम समयसीमा तोकेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट समस्याग्रस्त घोषित यस सहकारीका ऋणीहरूलाई पटक-पटक ताकेता गर्दा पनि ऋण बुझाउन बेवास्ता गरेपछि समितिले मंगलबार सार्वजनिक सूचना जारी गरेको हो ।
सूचनामा संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानीहरूलाई चैत मसान्तभित्र बुद्धनगरस्थित कार्यालयमा उपस्थित भई सावाँ, ब्याज र हर्जानासहितको दायित्व फरफारक गर्न निर्देशन दिइएको छ। यस सहकारीमा साविकका घेदुङ्ग बहुउद्देश्यीय, नागरिक कल्याण बहुउद्देश्यीय, आइडल यमुना बहुउद्देश्यीय, तपाई हाम्रो बहुउद्देश्यीय र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाहरू समायोजित भएका थिए। यी सबै साविकका संस्थाका ऋणीहरूले पनि तोकिएको समयभित्रै आफ्नो हिसाब मिलान गर्नुपर्नेछ।
समितिका अनुसार तोकिएको म्यादभित्र ऋण चुक्ता नगर्ने ऋणीहरूको हकमा आगामी २०८३ वैशाख १ गतेदेखि थप कडा व्यवस्था लागू हुनेछ। वैशाख १ गतेदेखि ऋणको हिसाब गणना गर्दा समितिको कार्यविधिअनुसार सम्पूर्ण सावाँ, ब्याज र हर्जाना शतप्रतिशत असुल गरिने र हाल दिइएको छुट सुविधा समेत खारेज हुने व्यहोरा सूचनामा उल्लेख छ।
सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम गठित समितिले ऋणीहरूले समयमै दायित्व पुरा नगरेमा उनीहरूले राखेको धितो लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ। धितो लिलामीका अतिरिक्त कानूनी प्रावधानअनुसार अन्य वैकल्पिक माध्यमबाट समेत सहकारीको सम्पूर्ण लेना रकम असुल उपर गरिने समितिले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण
जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो