राजनीतिबारे रविको धारणा : ढोकामा चुकुल लागेको छ, ताल्चा लागेको छैन

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, ११ : १५
राजनीतिबारे रविको धारणा : ढोकामा चुकुल लागेको छ, ताल्चा लागेको छैन

चितवन । सञ्चारकर्मी रवि लामिछानेले राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा रविले आफू राजनीतिमा जाने सम्भावना पनि रहेको  भन्दै उनले भने, ‘ढोकामा चुकुल लागेको छ, ताल्चा लागेको छैन ।’

उनले आफूनो पक्षमा न्याय माग्ने सबैलाई धन्यवाद दिएका थिए । उनले प्रेस जगतले सूचना प्रवाह गरेकोमा पनि धन्यवाद दिए । उनले न्यूज २४ कार्यक्रमको सीधा कुरा कार्यक्रम अझ बढी सशक्त हुने बताए । ‘आज पनि हाम्रो कार्यक्रम छ, आज सक्ने अवस्था छैन, सम्भवत शनिबार प्रस्तुत हुने कार्यक्रममा हामी लाइभमा आउनेछौँ ।’ 

अहिले भएभन्दा अझ सशक्त रुपमा सीधा कुरा कार्यक्रम आउने म सबैलाई विश्वस्त दिलाउन चाहन्छु  । न्यायको लागि सडकमा आउनु भएका सबैलाई एकमुष्ट रुपमा धन्यवाद भन्नको लागि यहाँ आएको हो‘ उनले भने  ।
अब ११ दिनपछि हिरासत बसाइँमा सीधा कुरालाई कसरी अगाडि बढाउने भन्ने विषयमा योजना बनाइएको बताए ।

उनले पत्रकार सम्मेलनमा भने, ‘अझ बढी मिहिनेत गर्नेछौँ, अझ सर्वसाधारणको दैनिकीसँग जोडिएको कुरालाई कार्यक्रममा प्रस्तुत गर्नेछौँ ।  ‘हामी कसैको विरुद्धमा छैनौँ, हामी आम सर्वसाधरणको पक्षमा छौँ’ उनले भने ।  
न्यायका पक्षमा जनता सडकमा आएका भन्दै उनले राजनीतिक एजेन्डा लिएर राजनीतिक स्वार्थका लागि आउनुभएको भन्ने कुरामा आफूले विश्वास नगर्ने बताए ।  

‘हामीले टेलिभिजनमा खबरदारी गर्दा भोलि हाम्रो भन्ने कोही हुँदैन भन्ने लागेको थियो, त्यो भ्रम टुट्यो । सत्य तथ्य न्यायको पक्षमा वकालत गर्दा मात्र पुग्ने रहेछ, कोही छैन भन्ने पीर मान्नै पर्ने रहेछ । सबै नेपाली जनताले मूल्यांकन गर्नुहुने रहेछ । घरघरबाट बस्तीबस्तीबा आवाज उठाएकोमा सबैलाई धन्यवाद दिन्छु’ पत्रकार सम्मेलनमा रविले भने । न्यायको लागि आवाज उठाउँदा घाइते हुनुभएकालाई आफूले भेट्न चाहने उनको भनाइ थियो ।

‘हाम्रो कारणले कति हिरासतमा हुनुुहुन्छ, हिरासतमा हामीले भेट्यौँ । उहाँहरु हिरासत मुक्त हुनुभएको छैन भने म भेट्न चाहन्छु र रिहाको माग गर्छु’ रविले भने, ‘राजनीति ठीक नभएसम्म कुनै कुरा ठीक हुँदैन भन्ने कुरामा सचेत छु । जो जहाँ छ, त्यहीबाट योगदान दिनुपर्छ । सर्वसाधारण मान्छेले पनि नागरिकको हैसियतले धेरै उत्तरदायी बन्न जरुरी छ ।’ लिडर कस्तो हुनुपर्छ, नेतृत्व कस्तो हुनुपर्छ भनेर हामीले गरेको सानो प्रयासलाई आम जनताले साथ दिएकोमा आफूलाई गर्व लागेको बताए । 

उनले भने, ‘राजनीतिक दललाई जिम्मेवार बनाउन खबरदारी गरेका हौँ, खबरदारी नै गरिरहन्छौँ । इमान्दार नेतृत्व भए पुग्छ, जनताको मत लिएर जानुभएका नेता जिम्मेवारी बोध गरेमात्र पुग्छ ।’ उनले भने, ‘अर्काको नेतालाई धेरै प्रश्न गरियो, अर्को नेताको खुब आलोचना गरियो, हामी आफ्नो नेतालाई कहिल्यै सोधेनौँ ? हामी किन डरायौँ ? रगतमा इन्जेक्ट गरेजस्तो गरेर हामीले आफ्नो नेतालाई प्रश्न किन गर्दैनौँ ? 

उनले भने, ‘हामी किन आउनुपर्छ राजनीतिमा ? खबरदारीमा व्यस्त हुनु चाहन्छु । नेतृत्व इमान्दार भए दिए पुग्छ । हामी यसमा खबरदारी गर्न चाहन्छु । सम्भावनाको ढोकामा चुकुल लागेको छ, ताल्चा लागेको छैन ।
उनले भने, ‘जनताको मुद्दा उठाउने पत्रकार नभए मलाई पत्रकार हुनु पनि छैन । मलाई जुन दिन पैसा कमाउनु पर्छ, पैसा चाहिन्छ, त्यतिबेला म सञ्चारमाध्यमजस्तो पवित्रा पेसामा बस्ने छैन ।’ उनले सम्मानित अदालतको जहिल्यै पनि सम्मान गर्ने बताएका थिए । 

 

प्रतिक्रिया दिनुहोस