मनोज पाण्डेको ‘धन्धा’मा प्रधानमन्त्रीका अर्का विज्ञ पनि जोडिए

प्रधानमन्त्रीको अनलाइन भन्दै ‘देखापढी’ अनलाइनका नाममा ब्यापारीहरुसँग चर्काे आर्थिक मोलमोलाई

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, ०८ : ५०
मनोज पाण्डेको ‘धन्धा’मा प्रधानमन्त्रीका अर्का विज्ञ पनि जोडिए

काठमाडौं । प्रधानमन्त्रीको अडियो–भिडियो विज्ञ र ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालन गर्दा सिंहदरबारभित्रै ‘चन्दा आतंक’ मच्चाएर विवादमा तानिएका मनोज पाण्डेको धन्दा अझै रोकिएको छैन ।

विवादमा तानिएकै कारण प्रधानमन्त्रीको सचिवालयबाटै हट्नु परेको , जनतासँग प्रधानमन्त्री कार्यक्रम नै बन्द गर्नुपरेको उनले अझै बिर्सेका छैनन् । बरु उल्टै नयाँ अनलाइनका नाममा बालुवाटारकै सचिवालयका भित्रियाबाट उनले थप आतंक मच्चाउन थालेको खबर प्राप्त भएको छ ।

दरबारमार्गमा रहेको दुई अनलाइन पोर्टलको बीचमा तेश्रो अनलाइन पोर्टलका रुपमा नयाँ अनलाइन ‘देखापढी डट कम’ सञ्चालनको तयारीमा रहेका उनले बालुवाटारकै आडमा फेरि नयाँ आतंक सिर्जना गर्न थालेको खबर सफल खबरलाई प्राप्त भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको छत्रछायाँमा उनले बालुवाटारबाट घोक्रेठ्याक लगाइदा पनि धन्दालाई भने रोकेका छैनन् । बरु उल्टै उनले अनलाइनमा बालुवाटारमै रहेका ब्यक्तिहरुलाई जोड्दै विभिन्न ब्यापारीहरुसँग आर्थिक स्रोतको जोहो गरिरहेका छन् ।

अडियो भिडियो सहित नयाँ संरचना र साजसज्जामा अनलाइन ल्याउने तयारी अहिले उनले गरिरहेका छन् । सम्भव भएसम्म यही भदौं १५ र नभएर यसै महिनाको अन्तिमसम्म लन्च गर्ने गरी उनले अनलाइनको तयारी गरिरहेका छन् । त्यसका लागि हिमाल छोडेका रामेश्वर बोहोरालाई उनले कार्यकारी सम्पादकका रुपमा नियुक्त गरेका छन् । अहिले उक्त अनलाइनमा १२ जनाको टोली निर्माण भईसकेको स्रोतले बतायो ।

यी सबैलाई दुई वर्ष तलबको कुनै चिन्ता नलिनु भन्दै आर्कषक तलबमा नियुक्त गरिएको छ । पाण्डेले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको मात्र आड लिएका छैनन्, अनलाइन सञ्चालनका लागि प्रधानमन्त्रीको आइटी विज्ञका रुपमा बालुवाटारमा नियुक्त भएका अर्का विवादास्पद अल अस्गरलाई समेत अहिले अनलाइनमा जोडेका छन् । अस्गरले अनलाइनको आइटी क्षेत्रको जिम्मेवारी सम्हाल्ने गरी पाण्डेसँग सम्झौता गरिसकेका छन् ।

आर्थिक रुपमा बदनामी कमाएका , राज्यको निगरानी सूचिमा रहेका र राजस्व छली देखि अनेक काण्डमा जोडिएका ब्यापारीहरु पाण्डेको सिंहदरबारबाहिरको ‘चन्दा आतंक’को निसानामा यतिबेला परिरहेका छन् ।

त्यसका लागि प्रधानमन्त्रीको नीजि सचिवालयको नाम समेत दुरुपयोग भईरहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीलाई सहयोग पु¥याउने गरी उहाँकै छत्रछायाँमा अनलाइन सञ्चालन गर्न खोजिएको हो । विष्णु रिमाल लगायत सबै यही अनलाइनमा जोडिनुहुन्छ । तपाईहरुले यसलाई सक्दो आर्थिक सहयोग गर्नुप¥यो’ भन्दै पाण्डेले अहिले विवादमा तानिएका ब्यापारीहरुसँग आर्थिक डिल गरिरहेको स्रोत बताउँछ ।

यही क्रममा उनले केही त्यस्ता ब्यापारीहरुसँग वर्ष दिनसम्मको विज्ञापन सम्झौता महँगो दररेटमा गरिसकेका छन भने कतिपयसँग सिधै पैसामा डिल भएको छ । सुन काण्डमा समेत पटक –पटक नाम जोडिदै आएका ब्यापारी दिपक मल्होत्राले पनि यो अनलाइनमा लगानी गरेका छन् ।

त्यसका लागि प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकार रिमालले नै मल्होत्रासँग आर्थिक डिल मिलाएको चर्चा पनि अहिले सञ्चार क्षेत्रसँग सम्बद्ध संघ÷सस्थाहरुमा चल्न थालेको छ ।

मल्होत्राको प्रधानमन्त्री निकट ब्यक्तिहरुसँग बढ्दो हिमचिम र उनीमाथी लागेको आरोपमा राज्यले देखाएको मौनताले पनि उनको पाण्डेले चलाउन लागेको अनलाइनमा ठूलै मात्रामा लगानी भित्रिएको चर्चा अहिले चलेको छ ।

जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउँदा सिंहदरबारकै मन्त्रालयमा सामान्य भिडियो तयार पार्दा समेत लाखौं रुपैयाँमा डिल गर्न सफल भएका पाण्डेले झन अहिले प्रधानमन्त्रीको अनलाइन भन्दै करोडैको डिल ब्यापारिक क्षेत्रमा गरिरहेका छन् । यसले पाण्डेको लुटखसैललाई झन बलियो जग निर्माण भएको चर्चा अहिले चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस