दैनिक ६० हजार लिटर दूध उत्पादन हुँदा हुन लागेको 'मिल्क होलिडे' टर्यो, यसरी भयो पहल

बुधबार, २९ कार्तिक २०७४, ११ : ४४
दैनिक ६० हजार लिटर दूध उत्पादन  हुँदा हुन लागेको  'मिल्क होलिडे' टर्यो, यसरी भयो पहल

१० वर्षअघि उत्पादित दूधले बजार नपाएपछि किसानले बाटोमा ल्याएर दूधको बाल्टिन खन्याउनु पर्यो। धेरै दूध उत्पादन भएपछि डेरी उद्योगले आफूलार्इ चाहिने मात्रै किन्दा किसानले भाउ पाएनन्, बढि भएको दूध बाटोमा खन्याउनु पर्यो।
 
गर्मी लागेपछि अवस्था ठ्याक्कै उल्टो हुने गर्यो। जाडो महिनामा दूधको उत्पादन बढि भए पनि गर्मी सुरु हुनेवित्तिकै उत्पादन घट्न थाल्थ्यो। उत्पादन घटेपछि आयातित पाउडर पानीमा घोलेर दूधको उत्पादन बढाउनु पर्ने वाध्यता उत्पन्न हुन थाल्यो।

जाडोको समयमा ‘मिल्क होलिडे’ को अवस्था ब्यवसायीहरुले नजिकबाट हेरिरहेका थिए। मिल्क होलिडे अन्त्य गर्दै ब्यवसायिक कारोबार बृद्धि गर्न पोखराको लक्ष्मी समूहले सुजल दूध र चितवनमा चितवन मिल्क स्थापना भए।
 
दुबै प्लान्टले कच्चा दूधबाट पाउडर उत्पादन गर्न थाले। ०६६ सालमा सुजलले पाउडर बनाउन थाल्यो भने चितवन कोर्इ समूहको चितवन मिल्कले २०६९ बाट पाउडर दूध उत्पादन थाल्यो।
 
दुर्इ उद्योगले पाउडर उत्पादन थालेपछि ‘मिल्क होलिडे’ सकियो। कात्तिकदेखि माघसम्म बढि उत्पादन भएको दूध पाउडरको रुपमा प्रशोधन हुन थाल्यो। नेपालमै पाउडर दूध उत्पादन हुन थालेपछि विदेशबाट समेत आयात कम हुन थाल्यो। किसानले व्यवसायिक भैसी र गार्इपालन फेरि सुरु गर्न थाले।


मिल्क होलिडे सकिएको केही वर्षभित्रै दुर्इवटा पाउडर प्लान्टले सुख्खायाममा भनेजति दूध पाउन छाडे। सुजलले कच्चा दूधसमेत प्रशोधन गरेर उद्योग चलाइरहेको छ। तर चितवन मिल्कले आवश्यक दूध नपाएपछि दुर्इ वर्षअघि कारखानै बन्द गर्न बाध्य भयो।
 
नेपालकै सबैभन्दा अत्याधुनिक प्लान्टबाट दूध, दही, घिउ र पाउडर दूध उत्पादन गर्ने उदेश्यसहित स्थापना भएको उद्योग एकाएक बन्द भएपछि चितवन लगायतका आसपासका क्षेत्रका किसान मार्कामा पर्न थाले। उनीहरुलाई समेत बजारको लागि काठमाडौंका डेरीसँग आश्रित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो।
 
‘मिल्क होलिडे’ हटाउन स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेको ‘चितवन मिल्क’ पाउडर बनाउने दूध नपाएका कारण मात्र बन्द भएको थिएन। भारतबाट छ्याप्छ्याप्ती कम गुणस्तरका पाउडर दूधले नेपालमा सहजै प्रवेश पाएकाले पनि उद्योग समस्यामा परेको थियो। उद्योगीले स्वदेशी उद्योगलार्इ कर लगायतमा सहुलियतका लागि गरेको आग्रहलार्इ सरकारले वेवास्ता गर्यो। कतैबाट सुनुवाइ नभएपछि अन्तत: उद्योग बन्दै भयो।

चालु वर्षको कात्तिकदेखि दूध उत्पादन ह्वात्तै बढेको छ। नेपाल डेरी उद्योग संघसँग आवद्ध रहेका डेरीमा दैनिक ६० हजार लिटर दूध बढि हुन थालेको छ।
 
दूध उत्पादन ह्वात्त बढ्दा डेरी उद्योगीहरु भने चिन्तित भएका छन्। बढि भएको दैनिक ६० हजार लिटर दूध नकिने किसान पलायन हुने डर एकातिर छ भने किने बिक्री हुँदैन, घाटा खानु पर्छ।
 
दूधको समस्या कसरी समाधान गर्ने? डेरी संघले बैठक डाक्यो।
 
छलफलमा बढी भएको दूध पाउडर बनाएर राख्ने र सुख्खा सिजनमा संघमा आवद्ध रहेका डेरीले किन्ने निर्णय भयो। तर दूधलाई पाउडर बनाउन सजिलो छैन। संघले सुजल डेरीलार्इ दूध प्रशोधनका लागि आग्रह गर्यो।
 
सुजलको क्षमता दैनिक पचास हजार लिटर मात्रै हो। यसमध्ये ३० हजार लिटर दुग्ध विकास संस्थानमा प्रशोधन भइरहेको छ। उद्योगीका लागि दूध प्रशोधनका लागि ‘चितवन मिल्क’ वाहेक अरु विकल्प भएन।
 
संघका अध्यक्ष अरनिको राजभण्डारीसहितको टोलीले चितवन मिल्कका संचालक राजुबाबु श्रेष्ठसँग उद्योग चलाएर ‘मिल्क होलिडे’ हुन नदिन आग्रह गरे। संघको आग्रह अनुसार श्रेष्ठले फेरि उद्योग संचालन गर्न राजी भएका छन्। हिजो (आइतबार) देखि फागुनसम्मका लागि चितवन मिल्कले दैनिक ५० हजार लिटर दूध प्रशोधन गर्न थालेको छ।
 
‘उद्योग संचालन भएर मिल्क होलिडे रोकिएको छ। यो उद्योग नचलेको भए दूग्ध क्षेत्रमा ठूलो क्षति हुन्थ्यो,' उनले भने, 'विगतमा पनि मिल्क होलिडे हुँदा धेरै किसान पलायन भए। त्यो बेला किसान पलायन हुँदा केही वर्ष उद्योगीले दूध पाउनै मुस्किल भयो।‘
 
संघका कार्यालय सचिव कृष्णप्रसाद बास्तोलाका अनुसार कात्तिकदेखि फागुनसम्म दैनिक एक लाख लिटरको हाराहारीमा दूध बढी हुन्छ। उनले चालिस हजार लिटर दूध दुग्ध विकास संस्थानले पाउडर बनाएर राख्ने गरेको बताए।

निजी क्षेत्रले ‘इनिसियसन’ लिँदा किसानले दुख गरेर उत्पादन गरेको दूधले फेरि बजार पाउन थालेको छ। सडकमा मिल्क्याउनु पर्ने वाध्यता टरेको छ।
 
उत्पादित पाउडरको मूल्य भने केही महँगो पर्छ। ‘स्वदेशी दूध किन्दा केही महँगो पर्छ। तर हामीलार्इ केही महँगो पर्दैमा आत्तिनु हुँदैन भन्ने लाग्यो’ संघका अध्यक्ष राजभण्डारीले भने, आफैले उत्पादन गरेको गुणस्तरिय पाउडर दूध पाउँछौं। भारतबाट ल्याएको दूधको गुणस्तर पनि हुँदैन। त्यसले दूधको गुणस्तर पनि घटाउँछ।‘
 
उनले चितवन मिल्क र संघको निर्णयले निजी क्षेत्रप्रतिको किसानको विश्वास गहिरिएर गएको बताए।
 
‘हामीले दीर्घकालिन बजार हेरेर यो व्यवसायमा लागेका हौ। अल्पकालिन रुपमा बजारमा लाग्दा हाम्रो व्यवसाय पनि सकिन्छ र कृषि तथा पशुपालन पनि सकिन्छ’ राजभण्डारीले भने, हामीले अर्थतन्त्रलार्इ समेत दिगो बनाउने र आयातलार्इ घटाउन मुनाफालार्इ मात्रै हेरेनौं। यसको प्रतिफल ठूलो हुन्छ।‘

प्रतिक्रिया दिनुहोस