विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा : प्रचण्डले दिए यस्तो सन्देश

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०८२, १२ : ०६
विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा : प्रचण्डले दिए यस्तो सन्देश

काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् ।

शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको अवसरमा प्रचण्डले शुक्रबार एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् । अहिले ‘जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेको प्रचण्डको दाबी छ ।  ‘शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकाङ्क्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ’, प्रचण्डको सन्देशमा भनिएको छ ।

शान्ति सम्झौतामा तत्कालीन सरकार प्रमुखका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्ध पक्षधर माओवादीका तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । प्रचण्डले जारी गरेको सन्देशमा शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता मध्येका कोइरालालाई स्मरण र विशेष सम्मान व्यक्त गरेका छन् ।

नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन,आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन’, प्रचण्डको सन्देशमा भनिएको छ, ‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्याउनुहुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’

प्रचण्डले आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपिल गर्दछु’, प्रचण्डले भनेका छन् ।