माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'

प्रतिस्पर्धा गर्नुहुन्छ भने गर्नुहोस्, विगतमा प्रतिस्पर्धा गर्नेहरु पार्टीमा रहनुभएन, त्यस्तो स्थिती नबनोस् : ओली

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०८२, १० : ०७
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'

काठमाडौं । नेकपा एमालेको अबको नेतृत्वका लागि अध्यक्ष केपी ओली र बरिष्ठ नेता इश्वर पोखरेल प्रतिस्पर्धा गर्ने करिव टुंगो लागेको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आठ घण्टा भन्दा लामो समयसम्म बसेको सचिवालय बैठकमा महाधिवेशनमा नेतृत्वका लागि ओली र पोखरेल भिड्ने प्रष्ट चित्र देखिएको नेताहरुले बताएका छन् । 

ओलीले पार्टीमा दुई कार्यकाल नेतृत्व सम्हालिसकेको र अब नेतृत्व छोडनुपर्ने प्रस्ताव वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राखेका थिए । ‘तपाई (ओली)ले अब नेतृत्व छोड्नुस, सर्वसम्मत मलाई जिम्मेवारी दिनुस् । मलाई सहयोग गर्नुस् । दिनुहुन्न भने म प्रतिस्पर्धा गर्छु, र परिणाम स्वीकार्छु’ पोखरेलले बिहिबारको सचिवालय बैठकमा भने । तर ओलीले अहिले पार्टी र देशको आवश्यकताले पनि आफुले नेतृत्व छोडन नसक्ने भन्दै पोखरेललाई उत्ताउलो नबन्न आग्रह गरे ।

‘अध्यक्ष (ओली) ले घुमाउरो शैलीमा आफुसँग प्रतिस्पर्धा गर्नेहरु पार्टीमा सिद्दिएको भन्दै चुनाव लडेर पराजित भएर किन सिद्दिने भन्दै घुमाउरो धम्कीको भाषामा चेतावनी दिनुभयो,’ एक पदाधिकारीले भने । 

उनले विगतमा आफु प्रतिस्पर्धामा रहेर पराजित हुँदा पनि पार्टीमै रहेको र आफुसँग पराजित भएकाहरु भने पार्टीमा नरहेको प्रसंग उप्काएर पराजित हुनेहरु सिद्दिएको बताएका थिए । 

‘अध्यक्ष (ओली)ले घुमाउरो शैलीमा आफुसँग प्रतिस्पर्धा गर्नेहरु पार्टीमा सिद्दिएको भन्दै चुनाव लडेर पराजित भएर किन सिद्दिने भन्दै घुमाउरो धम्कीको भाषामा चेतावनी दिनुभयो,’ एक पदाधिकारीले भने । ‘प्रतिस्पर्धा गर्नुहुन्छ भने गर्नुहोस् । म नगर्नुहोस् भन्दिनँ । तर मैले अहिले नेतृत्व छाड्ने अवस्था छैन । प्रतिस्पर्धाले पार्टी, आन्दोलन र स्वयं व्यक्तिलाई पनि फाइदा पुग्दैन,’ ओलीले सचिवालय बैठकमा भनेका थिए । 

बैठकमा ओलीले राखेको भनाई उदधृत गदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अध्यक्ष कमरेडले थप एउटा कुरा पनि भन्नुभयो– अहिलेसम्म निरन्तर विभिन्न समयमा प्रतिस्पर्धा भयो । म आफू एक जना मात्र त्यस्तो पात्र रहे, जसले प्रतिस्पर्धामा पराजित भएपनि पार्टी एकताका निम्ति निरन्तर लागरहेँ । तर विगतमा प्रतिस्पर्धा गर्ने कतिपय साथीहरू पार्टीको एकतामा रहनु भएन । उदाहरणका निम्ति माधवकुमार नेपाल या भीम रावल । त्यो स्थिति नबनोस् ।’

अर्थात् ओलीको पोखरेललाई प्रष्ट चेतावनी थियो, चुनाव महाधिवेशनमा भएपनि आफैले जित्छु, त्यस्तो स्थितीमा चुनाव हारेपछि कसैले पार्टी छोड्ने परिस्थिति नबनोस् ।चितवनमा ओलीले आफुसंग प्रतिस्पर्धा गर्न नै नेताहरुलाई रोक लागाउन खोजेका थिए । तर भीम रावलले उनीसँग प्रतिस्पर्धा गरे । रावलको प्रचार सामाग्री नै रोक लगाउने देखि महाधिवेशनमा मत माग्न समेत दिनबाट वन्चित गर्ने काम ओलीले गरेका थिए । 

कालान्तरमा आफुसँग प्रतिस्पर्धा गरेकै नाममा ओलीले रावलको प्रतिनिधिसभाको टिकट समेत दिएनन । उनलाई पार्टीबाट जर्वजस्ती खेद्ने काममा ओली लागे । रावल त्यसपछि गत वर्ष एमालेबाट निकालिए । अहिले उनी नेपाली कम्युनिष्ट पार्टीका नेता छन् । उनीसँग प्रतिस्पर्धा गरेका माधव नेपाल पनि अहिले उनीसँग छैनन । 

माधव नेपाल र भीम रावलहरुको अवस्था देखाउँदै ओलीले घुमाउरो शैलीमा इश्वरलाई ओलीले धम्कीको भाषा प्रयोग गरेको पोखरेल निकट नेताहरुले ठानेका छन् । तर पोखरेल यसपटक विधा भण्डारीको साथ र समर्थन लिएर ओलीसँग प्रतिस्पर्धामा उत्रने योजनामै जुटेका छन् । 
त्यसका लागि उनले ८ मंसिरमा राष्टिय सभा गृहमा भण्डारीकै उपस्थितीमा उम्मेदवार घोषणा गर्ने कार्यक्रम राखेका छन् ।