आफु निर्दोष रहेको बताए रवि लामिछानेले बयानमा

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १२ : ३४
आफु निर्दोष रहेको बताए रवि लामिछानेले बयानमा

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेले प्रहरीसँगको बयानमा आफु निर्दोष रहेको बताएका छन् । 

यस्तो छ रविको बयान :
‘निजले मर्नुअघि बनाएका दुईवटा भिडियोहरु हेर्दा निजले आफुलाई रबि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन सो कुरा निजले के कति कारणले भने मलाइ थाहा छैन तर निजले आफ्नो श्रीमति हुदाहुदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसंग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबैकुरा थाहा पाई निजबाट टाढिन खोज्दा निजले अस्मितालाई अनेक दुख दिने, बाटो छेक्ने, मरिदिन्छु भनि डर देखाउने कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधाकुरा जनता संग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनि सार्वजनिक गरिदिने भनेका कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसंग चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ ।’

बयानमा उल्लेख गरिएको छ, ‘मैले निजको बिरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनुसक्छ, मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको ब्यक्तिले उनका बिरुद्ध कार्यक्रम बनाउने भ्रामक कुराले निजको मन दुखेको हुन सक्छ र म माथि आरोप लगाएको हुनसक्छ । तर, मैले निजलाई आत्महत्या गर्ने सम्मको दुख दिएको छैन, र दिनुपर्ने कुनै कारण पनि छैन मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्की संग देख भेट भएको थिएन , प्रहरीद्धारा पक्राउ परे पश्चात मात्र देखे चिनेको हुँ ।’

प्रतिक्रिया दिनुहोस