उपराष्ट्रपतिको गाउँ रोल्पामै विप्लवको धावा

गाउँको वडा कार्यालयमा विस्फोट र आगजनी

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १० : ४७
उपराष्ट्रपतिको गाउँ रोल्पामै विप्लवको धावा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को गाउँकै वडा कार्यालयमा बम बिस्फोट भएको छ । रोल्पाको परिवर्तन गाउँपालिकाको वडा नं २ राङ्सीको वडा कार्यलयमा गएराति बम विस्फोटन सहित आगजनी भएको हो ।

आगजानीको जिम्मा कसैले लिईसकेको त छैन । तर प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उक्त घटना घटाईएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

जहा वडा कार्यालय राखिएको छ, त्यो गाउ अहिलेका उपराष्ट्रपति पासाङको आफ्नै गाउ हो । उपराष्ट्रपति पुनको गृह वडाकार्यालयमै बम विस्फोटन हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । विस्फोट सहितको आगजनी आइतबार मध्यराति साँढे १२ बजे भएको हो ।

वडा अध्यक्ष हरीप्रसाद बुढामगर (समबेग) ले  गएराती मध्यरातमा ठूलो विस्फोटनको आवाज आए लगत्तै हेर्दा वडा कार्यालयमा बम विस्फोटन र आगजनी गरिएको जानकारी गराएका छन् । वडा कार्यालयमा स्टिलको बाल्टिनबम प्रयोग गरी वडा कार्यालयको ४ वटा ढोकामा जुटको बोरामा डिजेल राखेर आगजनी गरिरहेको उनले बताए ।

घटना लगतै वडा कार्यालय पुगेका स्थानियले शुरुमा विजुली चम्केर चट्याङबाट आगजानी भएको आशंका गरेपनि घटनास्थलमा स्टिलको वाल्टिन बम फेला परेपछि भने विस्फोट र आगजानी गराईको देखिएको उनले बताए ।

वडा कार्यालयको ढोकाहरु जलेपनि क्षति हुनबाट बचाउन सकिएको अध्यक्ष बुढामगरले बताए । उनले भने–‘यदी यो घटना गराउने योजना अनुसार नै सफल भएको भए निकै ठूलो घटना हुन सक्ने थियो, तर स्थानीयवासीको सहयोगमा तत्कालै नियन्त्रण गरेपछि घटनाले क्षति कम गरेको हो ।’

घटना भएपछि इलाका कार्यालय पोबाङका प्रमुख बसन्त कुमार वलीको नेतृत्वमा नेपाल प्रहरीको टोली राती २ बजे नै घटना स्थलतर्फ पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस