रवि लामिछाने र युवराज कँडेलको आज बयान

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, ०८ : २८
रवि लामिछाने र युवराज कँडेलको आज बयान

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएकोमा रवि र युवराजको आज बयान हुने भएको छ । 

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान आज १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण  उनीहरूको बयान लिन नसकिएको उनले बताए । 

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । 

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दा रहेको छ । साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस