ओलीको अनुपस्थितीमा प्रचण्डले बोलाए सचिवालय बैठक

नेकपाको आज दिउँसो १ बजे पार्टी कार्यलय धुम्बराहीमा सचिवालय बैठक बस्दैं,  १५ महिनापछि बैठकमा प्रचण्डले अध्यक्षता गर्ने

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, ०६ : ५९
ओलीको अनुपस्थितीमा प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं । पार्टी एकताको १५ महिनापछि नेकपाका दुई अध्यक्षमध्ये एकको अनुपस्थितीमा आज पार्टी सचिवालय बैठक बस्दैछ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीको अनुपस्थितीमा पहिलो पटक पार्टी बैठक बोलाएका हुन् ।

नेकपाको एकता प्रक्रिया यता एकपटक केन्द्रीय समिति, दुईपटक स्थायी समिति र ३३ पटक सचिवालयको बैठक बसिसकेको छ । तर यी सबै बैठकहरुमा दुवै अध्यक्षको उपस्थिती थियो । एक अध्यक्ष नहुदा बरु बैठक स्थगित हुन्थ्यो, बैठक वस्ने गरेको थिएन ।

एकको अनुपस्थिती र सहमति बिना अर्काे नेताले पार्टी बैठक बोलाउने र निर्णय लिने अवस्था सत्तारुढ दलमा थिएन । दुई अध्यक्षमध्ये प्रधानमन्त्री समेत रहेका ओलीको वेला–वेलाको विदेश भ्रमणका कारण पार्टी बैठक प्रभावित भएको थियो । 

विधानमा दुई अध्यक्षको बराबरी अधिकार छ । एकताकै क्रममा पनि दुई अध्यक्षले पार्टी बैठकको अध्यक्षता आलोपालो गर्ने अनौपचारिक सहमति गरेका थिए । तर प्रचण्डले पार्टी बैठकको अध्यक्षता गर्न कहिल्यै पाएका थिएनन् ।

प्रधानमन्त्री ओलीले नै पार्टी बैठकको अध्यक्षता गर्ने, उनकै योजनामा पार्टी बैठक बोलाउनु पर्ने जस्ता कारण प्रचण्ड अध्यक्ष भएपनि ओलीको सहयोगीका रुपमा मात्र देखिएका थिए । माओवादी पृष्ठभूमिका नेताहरुले ओलीले पार्टी बैठकको अध्यक्षता गर्ने देखि अन्य अधिकार नदिएर दाहालको ‘हिमुलेसन’ मात्र गरिरहेको आरोप लगाउन थालेका थिए । प्रचण्ड स्वयं पनि पार्टीमा आफ्नो भूमिका खुीम्चदै गएकोमा सन्तुष्ट थिएनन् । तर ओलीले ५ भदौंको सचिवालय
बैठकमा भने आफ्नो अनुपस्थितीमा पनि पार्टी सचिवालय बैठक बोलाउन र पार्टी निर्णय गराउने अधिकार प्रचण्डलाई दिएपछि उनले आजका लागि सचिवालय बैठक बोलाएका हुन ।

‘आज दिउँसो १ वजे पार्टी कार्यालय धुम्बराहीमा पार्टी सचिवालयको बैठक बोलाईएको छ,’ महासचिव विष्णु पौडेलले भने,–‘पार्टीको संगठनात्मक एकताका बाँकी कामको वारेमा छलफल गर्ने र निर्णयमा पुग्ने काम हुन्छ ।’ नेकपामा केन्द्रीय आयोग, महानगर कमिटि, प्रवास कमिटि देखि सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च लगायतका संगनठनात्मक एकीकरणका काम टुंगो लगाउन अझै बाँकी नै छ । ओलीले आफनो अनुपस्थितीमा यी कामहरु सहमतिका आधारमा बैठक वोलाई अगाडी बढाउन प्रचण्डलाई अधिकार दिएका थिए । 

ओली अहिले उपचार भ्रमणका लागि सिंगापुरमा छन् । ओलीको सिंगापुर बसाई लम्बिने भएपछि प्रचण्डले पार्टीका अन्य नेताहरुसँगको परामर्शका आधारमा बैठक बोलाएका हुन् ।

बैठक बोलाउनु अगाडी उनले सचिवालयका अन्य नेताहरु सँग एकसरो छलफल गरेका थिए । आइतबार मात्रै पनि उनले कार्यवाहक प्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले वरिष्ठ नेता माधव नेपालसँग पनि पटक–पटक छलफल गरेका थिए । गत बिहिबारको सचिवालय बैठकमा ओली–नेपालवीच चर्काचर्की परेपछि सचिवालय बैठक त्यतिकै सकिएको थियो । दुई नेतावीचको असमझदारी र विवाद मिलाउनका पनि प्रचण्डले समन्वयकारी भूमिका खेलिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस