समाजशास्त्री चैतन्य मिश्रले रवि प्रकरणमा मुख खोले

उनी भन्छन्, टेलिभिजनमा देखेको भरमा मात्रै कसैको मूल्याङकन गलत हुन्छ

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, ०७ : ३२
समाजशास्त्री चैतन्य मिश्रले रवि प्रकरणमा मुख खोले

काठमाडौं । समाजशास्त्री चैतन्य मिश्रले भावनामा कसैलाई पनि नबग्न आग्रह गरेका छन् । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका रवि लामिछानेको पक्षमा अहिले देखिएको भीड भावनाका आधारमा देखिएको भन्दै भावनामा भन्दा तर्कका आधारमा मात्र तार्किक भएर समाजले सोच्नुपर्ने बताएका छन् ।

समाजिक सन्जालमा आउने क्रिया प्रतिक्रियाका आधारमा धारणा बनाउने, त्यसको गहिराईमा पुग्दै नपुगी दौडने प्रवृत्ति हानिकारक हुने भन्दै उनले सामाजिक सम्वन्धको दायरा बुझे मात्र हरेक कुरालाई नियाल्नुपर्ने सुझाब ब्यक्त गरेका छन् ।

रवि लामिछाने प्रक्राउ प्रकरणमा उनका समर्थकहरुले गरिरहेको नारा जुलुस र भीडभाड प्रर्दशन तर्क कमजोर बनेर भावनाका आधारमा मात्र भएको उनको तर्क छ । राज्य ब्यवस्था र सरकार कमजोर भएको कारण पनि सामाजिक सन्जालमार्फत यस्ता भीडभाडहरु भावनाका आधारमा जम्मा हुने गरेको उनको बुझाई छ ।

‘रवि लामिछाने कुनै टेलिभिजनमा प्रकट भए र लोकप्रिय भए । तर उनको सामाजिक सम्बन्धको दायरा कसैलाई थाहा छैन । उनी कुन पृष्ठभूमिबाट आए वा कसका छोरा हुन् वा विगत कस्तो थियो भन्ने मानिसहरूलाई थाहा छैन । अझ उनको वर्तमानका धेरै कुराहरू पनि धेरैलाई थाहा छैन ।’

समाजशात्री मिश्र भन्छन्,–‘ जसले उनलाई समर्थन गरेर जुलुस नै निकाले, त्यसमा उनलाई नजिकबाट चिन्ने मान्छे एकदमै थोरै छन् । टेलिभिजनमा देखेको भरमा मानिसहरू अहिले पक्ष र विपक्षमा छन् । टेलिभिजनमा देखेको आधारमा मात्र सवै वास्तविकता नहुन सक्छ ।’

उनले कुनै पनि विषयमा सामाजिक अन्तरसम्बन्धका बारेमा बहस आवश्यक रहेको भन्दै तथ्यका आधारमा तार्किक भएर सोचेर मात्र हिडन समाजलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस