रवि लामिछानेमाथि सुरक्षा चुनौती छैन : एसपी मल्ल

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, १३ : ५२
रवि लामिछानेमाथि सुरक्षा चुनौती छैन : एसपी मल्ल

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई सुरक्षा चुनौती नभएको बताएका छन् । सफल खबरसँग कुरा गर्दै चितवन प्रहरी प्रमुख मल्लले रविसहित हिरासतमा रहेका तिनै जनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन् । 

रवि लामिछानेकी पत्नी निकिता पौडेलले फेसबुकमा स्टाटस लेख्दै रविले आफू प्रहरीबाटै असुरक्षित रहेको दाबी गरेपछि प्रहरीले हिरासतमा उनी अन्य साधारण व्यक्तिसरह नै सामान्य अवस्थामा रहेको बताएका छन् । ‘हिरासतमा कुनै किसिमको असुरक्षा छैन’ एसपी मल्लले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, के भन्यो, भन्नुभन्दा पनि हिरासतमा रहेका सबै जना सुरक्षित छन् ।’ 

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको सुरक्षामा जिल्ला प्रहरी कार्यालय अत्यन्तै सचेत रहेको मल्लको भनाई छ । ‘प्रहरीको घेरामा रहेका व्यक्ति कसरी असुरक्षित हुन्छ ?’ प्रहरी प्रमुख मल्लले प्रतिप्रश्न गर्दै भने, ‘अनुसन्धान भइरहेको छ, सुरक्षाका विषयमा अनेक आशङ्का नगर्न सबैसँग आग्रह गर्दछु ।’ 

रविले प्रहरीले चलाएको कदम आफुलाई फसाउने गरी सुनियोजित र नियतपुर्ण भएको दाबी गरेका थिए । रविले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका हुन् । पहिलो पटक थपिएको ५ दिनमा आफुले प्रहरीलाई अनुसन्धानमा सहयोग गरे पनि दोस्रो पटक म्याद थपीएपछि उनले आफु प्रहरीबाटै असुरक्षित महसुस गरेको बताएका छन् । 

रविले आफुलाई हिरासतबाट निकालेको ५ मिनेटमा घटनामा आप्mनो संलग्नता छैन भनेर प्रमाणीत गर्ने दाबी पनि गरेका छन् । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएपछि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प्रक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस