पशुपतिको दर्शनपछि राष्ट्रपतिलाई भेट्दै जयशंकर

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०७६, ०८ : १९
पशुपतिको दर्शनपछि राष्ट्रपतिलाई भेट्दै जयशंकर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस.जयशंकर अहिले पूजाआजाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्।

पशुपतिनाथ दर्शनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

साढे १० बजे राष्ट्रपतिसँग भेट तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसपछि उनी होटल याक एन्ड यतिमा जारी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

बुधबार नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। माइनुटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन्।

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जाहेर गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ।

दुई पक्षबीच रामायण र बुद्धिस्ट सर्किट तत्काल विकास गर्ने, दुईपक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको छ। यस्तै खाद्य गुणस्तर र सुरक्षामा सहकार्यसम्बन्धी सहमति भएको छ। नेपालले हवाई मार्ग प्रवेशका लागि भारतसँग थप रुट माग्ने भएको छ।

दुईदिने भनिएको बैठक एकै दिनमा सफलतापूर्वक सम्पन्न भएको दाबी परराष्ट्र मन्त्रालयले गरेको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरेका थिए।

प्रतिक्रिया दिनुहोस