बालुवाटारको सर्वदलीय बैठकमा उठ्यो चितवन प्रकरण

पत्रकार पुडासैनी आत्महत्या प्रकरणपछि समाजमा नकारात्मकता फैलाउने र ब्यवस्थाप्रति नै अनास्था बढाउन खोजिएको भन्दै निडर भएर अनुसन्धान गर्न प्रहरीलाई नेताहरुको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, ११ : १३
बालुवाटारको सर्वदलीय बैठकमा उठ्यो चितवन प्रकरण

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण पछि प्रहरीले थालेको अनुसन्धानलाई प्रभावित पार्ने गरी अराजकता मच्चाउन खोजिएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सर्वदलीय बैठकमा नेताहरुले प्रश्न उठाएका छन् ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणपछि सार्बजनिक भएको भिडियोका कारण प्रहरीले पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । साउन २० गते चितवनको कंगारु होटलमा नुवाकोट स्थायी घर भएका माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले झुन्डिएर आत्महत्या गरेका थिए ।

पुडासैनीले आत्महत्या गर्नु अगाडी आफुलाई आत्महत्या गर्न रवि लामिछाने लगायतले बाध्य बनाएको भन्दै मोवाइलमा भिडियो खिचेको प्रहरीले फेला परेपछि पत्रकार लामिछाने लगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो सिविआई समेतले अनुसन्धान गरिरहेको यो घटनालाई प्रभावित पार्ने गरी अचेल चिनवनमा दिनहुँ अनेक खालका नाराजुलुस र प्रचारबाजी भईरहेका छन् ।

यो घटनाले समाजमा नकारात्मकता फैलाउन खोजेको, प्रहरीको अनुसन्धानलाई हुलहुज्जतबाट प्रभावित पार्न खोजेको र कुन्सित उदेश्य बोकेकाहरुले ब्यवस्था विरुद्ध नै षडयन्त्रको कोसिस गरेको भन्दै चितवनमा भईरहेको अराजक घटनाप्रति गम्भिर बन्नुपर्ने सर्वदलीय बैठकमा सहभागी नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले चितवनमा देखिएको पछिल्लो घटनाका विषयमा सर्वदलीय बैठकमा नेताहरुले गम्भिर भएर कुरा उठाएको भन्दै सरकारलाई चनाखो हुन आग्रह गरिएको बताए । ‘चितवनमा अहिले जसरी भए नभएको अराजकता मच्चिन खोजेको छ ।

जे मन लाग्यो, त्यही सामाजिक सन्जाल देखि यूटुवरहरुले देखाउन र लेखाउन खोजिरहेको छ । यसले मान्छेमा नेगेटिभिटि बढाएको छ । चिन्नु न जान्नुका मान्छेहरुसँग शालिकराम आत्महत्या काण्डसँग नेताहरुलाई समेत जोडेर यो वा त्यो बाहनामा अनेक प्रचराबाजी भईरहेको छ ।

यो भनेको एकप्रकारले नेतृत्वलाई स्वखलित गर्ने, वदनाम गर्ने र ब्यवस्थाप्रति नै वितृष्ण फैलाउने, कुनै एक ठाउँको असन्तुष्टि कही लगेर जोडिदिने र अराजकता फैलाउने काम हो,’ बैठकमा नेताहरुले राखेको भनाई उदधृत गदै राजपा अध्यक्षमण्डलका संयोजक यादवले भने –‘सामाजिक सन्जाल देखि लिएर मान्छेमा भए नभएको नेगेटिभिटि बढाउन खोजिएको छ ।

यो भनेको लोकतन्त्र, गणतन्त्रका लागि सुखद पक्ष होइन । यसलाई कसरी लिने भन्नेमा हामी सबैले गम्भिर भएर सोच्नुपर्छ  र सरकारले पनि चनाखो भएर हुलले कानुनलाई नियन्त्रणमा लिन खोज्ने प्रवृत्तिका विरुद्ध सचेत हुनु पर्छ भन्ने ढंगले नेताहरुले कुरा उठाउनु भएको छ ।’

पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्ने उदेश्यले चितवनमा अहिले अनेकथरी मान्छेहरुले अराजकता मच्चाउन खोजिएको निश्र्कष सर्वदलीय बैठकको छ ।

प्रहरीलाई निडर भएर अनुसन्धान गर्न दिनुपर्नेमा सर्वदलीय बैठकमा नेताहरुले जोड गरेका बैठकमा सहभागी अर्का एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस