बाबुराम भट्टराई : संसदमा प्रतिपक्ष, बालुवाटारमा सत्तापक्ष !

पूर्वसभामुख सुवास नेम्वाङ भन्छन्,–‘बाबुराम जी संसदमा विपक्षी, बालुवाटारमा सत्तापक्षका नेता बन्नुभयो ।’

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, ०७ : ५७
बाबुराम भट्टराई : संसदमा प्रतिपक्ष, बालुवाटारमा सत्तापक्ष !

तस्वीर : बालुवाटरको सर्वदलीय बैठकमा सत्तापक्षका नेताहरुको लहरमा बस्दै डा बाबुराम भटट्राई ।

काठमाडौं । उपेन्द्र यादवको पार्टीसँग एकतापछि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि खासमा सत्तापक्षका नेता हुन् । उनको पार्टी समाजवादी पार्टी नेपाल सरकारमा छ । उपप्रधान तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवले सम्हालिरहेका छन् ।

पार्टी एकतायता नै डा भट्टराईले नेकपा नेतृत्वको सरकारबाट पार्टी बाहिरिनु पर्ने आवाज उठाईरहेका छन् । तर उनको त्यो आवाजको पार्टीभित्र सम्बोधन हुन सकेको छैन । तर पनि उनी संसदमा भने विपक्षी बेन्चमै बसिरहेका छन् ।

गत हप्ता मात्रै नेकपा सांसद विरोध खतिवडाले संसदमै डा भट्टराईलाई संसदमा बस्ने सिट कता हो देखाईदिन भन्दै सभामुखलाई आग्रह गरेका थिए ।  उनको पार्टी सरकारमा हुने र पार्टी अध्यक्ष उपेन्द्र यादव नै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने गरी सहभागी हुने तर पार्टीका संघीय परिषदका अध्यक्ष रहेका डा भट्टराई भने विपक्षी बेन्चमा बस्ने कुरा नसुहाएको भन्दै खतिवडाले सभामुखलाई भट्टराई बस्ने बेन्च देखाईदिन आग्रह गरेका थिए । तर पनि उनी विपक्षी बेन्चमा बस्न छोडेका छैनन् ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा सत्ता पक्ष र विपक्षीलाई बस्ने छुट्टाछुट्टै लहरको सिटको ब्यवस्था गरिएको थियो । नेताहरुले अब भट्टराई कता वस्लान् भन्ने निक्कै चासो राखेका थिए । बालुवाटारको सर्वदलीय बैठकमा भने उनी सत्तापक्षका नेताहरु बसेकै लहरमा बसेका थिए ।

त्यसपछि केही समय नेताहरुबीच हास्यब्यङग्य पनि चल्यो । पूर्व सभामुख सुवास नेम्वाङले भट्टराईलाई इंंिगत गदै भनिहाले, –‘बाबुराम सर संसदमा विपक्षी, बालुवाटारमा सत्तापक्षका नेता बन्नुभयो । ’

एकछिन वैठक कक्षमा नेताहरु गल्लल हासेको सहभागी एक नेताले बताए । भट्टराई भने नेम्वाङको यस्तो टिप्पणीमा केही नबोली मौन बसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस