भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं ओर्लिदै

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, ०७ : २४
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं ओर्लिदै

काठमाडौं । संविधान निर्माणका बेला भारतीय सरकारका तर्फबाट असन्तुष्टि जनाउन आएका तत्कालिन भारतीय विदेश सचिव तथा हालका विदेशमन्त्री एस जयंशकर आज बिहान काठमाडौं ओर्लिदैछन् ।

नेपाल भारत संयुक्त आयोगको समिक्षात्मक बैठकमा सहभागी हुनका लागि उनी काठमाडौं आउन लागेका हुन् ।

भारतीय पक्षले २०७२ असोज ३ मा संविधान जारी गर्ने बेला जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा काठमाडौं आएका थिए । नेपालले संविधानमा अगाल्नेको धर्मनिरपेक्षताका विषयमा आपत्ति जनाउन र त्यसलाई सच्चाएर मात्र संविधान जारी गर्न दबाब दिने उदेश्यले त्यसबेला जयशंकर काठमाडौं आएका थिए ।

उनले त्यसबेला प्रधानमन्त्री रहेका दिवंगत कांग्रेस सभापति शुसिल कोइराला, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति डा रामवरण यादव सम्मलाई भेटी अनावश्यक प्रेसर बढाएका थिए ।

तर नेपालका राजनीतिक दलका नेताहरुले त्यसबेलाको भारतीय दबाबलाई वेवास्ता गर्दै संविधान जारी गरेका थिए । त्यसपछि भारतले नेपालमाथी नाकाबन्दी लगाएको थियो । नेपालले कष्टकर नाकाबन्दीको सामना गर्नुपरेको थियो । जसकाकारण पनि जयशंकर नेपालमा निक्कै आलोचित ब्यक्ति हुन् ।

उनी त्यसपछि पहिलोपटक नेपाल आउन लागेका हुन् । त्यसबेला र अहिले उनको हैसियत बदलिएको छ । उनी त्यसबेला कर्मचारीका रुपमा आदेश पालकको रुपमा नेपाल आएका थिए । तर अहिले आफै सरकारको प्रभावशाली मन्त्रीका रुपमा नेपाल आउन लागेका हुन् ।

त्यसो त प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्री चयन भएपछि भारतीय पक्षको उनी उच्चस्तरीय भ्रमणमा नेपाल आउन लागेका हुन् । इपिजिको प्रतिवेदन बुझ्न भारतीय पक्षले अनाकानी गरिरहेका बेला उनको यो नेपाल भ्रमण हुन लागेको हो ।

उनले काठमाडौं ओर्लिने बित्तिकै शिष्टाचार भेट गर्ने भएका छन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले विमानस्थलमा स्वागत गर्ने छन् । त्यसलगत्तै उनले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार पुगेर सिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नेपालस्थित भारतीय राजदुतावासमा केही राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत बनाएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस