ओली, प्रचण्ड र देउवाबीच आज छुट्टै छलफल हुँदै

सिंगापुरमा फलोअप उपचारका लागि जानु अगाडी प्रधानमन्त्रीको सक्रियता

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, ०७ : ०४
ओली, प्रचण्ड र देउवाबीच आज छुट्टै छलफल हुँदै

काठमाडौं । प्रमुख शीर्ष नेताहरुको आज छलफल हुदैछ । सरकारको नेतृत्व गरिरहेको नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका बीचमा आज छलफल हुन लागेको हो ।

छलफलका लागि साँझ ५ वजे प्रधानमन्त्री ओलीले प्रचण्ड र देउवालाई बालुवाटार बोलाएका छन् । ओली बिहिवार (भोली) थप उपचारका लागि सिंगापुर जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा उनले हिजो मंगलबार संसदमा प्रतिनिधित्व गर्ने चार दलका बीचमा आफु प्रधानमन्त्री भएको १७ महिनापछि सर्वदलीय बैठक बोलाएका थिए भने आज प्रमुख दुई दलका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाका अनुसार, आज साँझ बोलाईएको बैठकमा भने शान्ति प्रक्रियाको टुंग्याउन बाँकी सत्यनिरुपण र बेपत्ता खोजीका लागि बनाइने आयोगका विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

मंगलवारको सर्वदलीय बैठकमा आयोग गठनका विषयमा सामान्य जानकारी दिएका ओलीले सरोकार रहेका दलका प्रमुख नेतासँग मात्र छलफल गरेर विषयलाई निश्र्कषमा पु¥याउन आफु तयार रहेकोले वुधबार प्रमुख नेताको छलफल गर्ने प्रस्ताव गरेका थिए ।

आयोगमा आफु अनुकुल नेतृत्व चयनका लागि मुख्य नेताहरुले चासो राखेका कारण आयोग गठन हुन सकेका छैनन् ।

दुवै आयोग चैत २७ देखि पदाधिकारीबिहीन छन् । पदाधिकारी नहुँदा उजुरी अलपत्र छन् । बेपत्ता आयोगले २ हजार ३ सय ६९ फाइलमध्ये आधाको मात्र प्रारम्भिक अनुसन्धान सकेको छ । मेलमिलाप आयोगमा परेका ६४ हजार उजुरीमध्ये २ हजार ९ सयको मात्र प्रारम्भिक अनुसन्धान भएको छ ।

२०७१ माघ २७ मा २ वर्षका लागि गठित दुवै आयोगको सरकारले दुईपटक म्याद थपे पनि २०७५ माघ २६ गते सकिएको थियो । त्यसपछि पनि सरकारले ऐन संशोधन गरी दुई महिना पदाधिकारीको लागि थपेको थियो ।

आयोगमा पदाधिकारी छनोटका लागि पूर्वप्रधानान्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैत अन्तिम साता सिफारिस समिति गठन गरिएको थियो । समितिले त्यसका लागि आवेदन लिए पनि नाम छनोट गर्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले आइतबार संसदमा सम्बोधन गर्दै एक साताभित्रै अब आयोग गठन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले अब संक्रमणकालिन न्यायका विषयमा ढिलो नहुने भन्दै मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन एक साताभित्रै टुंगो लगाउने बताएका थिए ।

दलहरुवीच मुख्य रुपमा सत्य निरुपण आयोगको नेतृत्वमा आफु अनुकुलको नेतृत्व खोजीको प्रयास जारी छ । प्रधानमन्त्री ओलीले आयोग पदाधिकारी चयनका लागि अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई आपसी समझदारीमा पदाधिकारीको टुंगो लगाउने जिम्मा दिएका छन् ।

सत्य निरुपण आयोगको नेतृत्वका लागि गोविन्द बन्दी, डा सूर्य ढुंगोल र रमण श्रेष्ठ को नाम चर्चामा छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुन सक्ने नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस