रवि लामिछाने पाँच दिन अझै हिरासतमा, फेरि म्याद थपियो

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १७ : २२
रवि लामिछाने पाँच दिन अझै हिरासतमा, फेरि म्याद थपियो

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले ५ दिनको लागि पुनः म्याद थप गरेको छ ।

यसअघि पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीलाई पुनः थप अनुसन्धानको लागि जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

आजै रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराई बहसपछि म्याद थप गरिएको हो । 
यसअघि उनीहरुलाई पाँच दिनको अनुसन्धान र बयानपछि अदालत उपस्थित गराइएको भए पनि थप अनुसन्धानको लागि म्याद थप भएको चितवन अदालतले जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुको थप अनुुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले अदालतमा म्याद थपको लागि पेस गरेको थियो । आज लामिछानेसहित तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको थियो।

रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गरेका थिए भने वादीबाट जिल्ला महान्यायधिवक्ता यदु नाथ शर्माले बहस गरेका थिए । 

गएको साउन २० गते नारायणगढमा रहेको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियोमा रविसहित तीन जनालाई पोलेका थिए । सोही भिडियोको आधारमा  उनीहरुलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस