अदालतमा रविसहित ३ जनाको बहस, सरकारी वकिलले मागे १० दिनको म्याद थप

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १५ : २४
अदालतमा रविसहित ३ जनाको  बहस, सरकारी वकिलले मागे १० दिनको म्याद थप

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । सरकारी वकिलले अनुसन्धानको लागि थप १० दिनको म्याद थप मागेको छ । 

यसअघि पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीलाई पुनः थप अनुसन्धानको लागि म्याद थपको माग गरिएको हो । जिल्ला अदालतको निर्णय आउन बाँकी छ । 

पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुको थप अनुुसन्धान गर्नुपर्ने भन्दै अदालतमा म्याद थपको माग गरिएको हो ।

आज लामिछानेसहित तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस भएको छ।

गएको साउन २० गते नारायणगढमा रहेको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियोमा रविसहित तीन जनालाई पोलेका थिए । सोही भिडिायको आधारमा  उनीहरुलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस