पत्रकार पुडासैनी आत्महत्या प्रकरण

अनुसन्धान, अभियोजन र न्याय प्रभावित नहोस्

सोमबार, ०२ भदौ २०७६, १३ : ५६
अनुसन्धान, अभियोजन र न्याय प्रभावित नहोस्

- सन्तोष पन्त

राज्यको सबै शक्ति, श्रोत लगाएर अध्ययन, अनुसन्धान तथा विश्लेषण हुँदा पनि २०७५ श्रावण १० गते कंचनपुर जिल्ला भिमदत्त नगरपालिका उल्टाखामकी अबोध १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाका दोषी पत्ता लाग्न सकेका छैनन् । दोषी पत्ता नलाग्दा मृतक बालिकाको आत्माले शान्ति पाएको छैन । पीडित परिवारले न्याय प्राप्त गर्न सकेका छैनन् । कानूनी राज्यको उपहास भइरहेको छ । अपराधीको मनोबलमा अभिवृद्धि भई पुनः त्यस्तै अपराध हुन सक्ने सम्भावना समेत रहेको छ । यस्तो हुनुको मुख्य कारण थियो सूचना संकलन र अपराधको अनुसन्धान पक्ष बलियो नहुनु, अनुसन्धान प्रभावित हुनु । अपराध अनुसन्धानको प्राणको रुपमा रहेको सूचना संकलन र विश्लेषण पक्षमा भएको कमजोरी तथा जो सुकैले जुनसुकै कारणले, जुनसुकै प्रकृतिले गरेको गराएको होस्, अनुसन्धान प्रभावित भएको कारणले त्यस्तो दुःखद् घटनाको आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन । 

त्यस्तै दुःखद् घटना चितवनमा घट्यो मिति २०७६ श्रावण २० गते नारायणगढको एक होटलमा । पत्रकार शालिकराम पुडासैनीको झुण्डिएको अवस्थामा शव फेला प¥यो । देशका होनहार व्यक्तिले किन आत्महत्या गरे वा अन्य के भयो भन्ने सम्बन्धमा चितवन प्रहरीका प्रमुख स्वयं घटनास्थलमा गई घटनास्थलबाट सबुद संकलनमा संलग्न भएको देखियो । परिवारको चाहना बमोजिम पोष्टमार्टम समेत सुविधासम्पन्न स्थानमा गर्ने व्यवस्था भयो । घटनाको अनुसन्धानको सिलसिलामा प्राप्त भएको भिडियो क्लिपका आधारमा चर्चित संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई पक्राउ गरी ५ दिन अनुसन्धान गर्ने जिल्ला अदालत चितवनको अनुमति अनुसार अनुसन्धान भइरहेको सर्वविदितै छ । अनुसन्धानको क्रममा रहेका सञ्चारकर्मी रवि लामिछाने लगायतका व्यक्तिहरुको पक्षमा तत्कालै रिहा गरियोस् भन्दै र अर्कोतर्पm अनुसन्धान होस्, अनुसन्धान प्रभावित गर्न पाईदैन भन्दै चितवनमा दैनिकजसो नारा, जुलुस आदि भइरहेका छन् । सामाजिक सञ्जाल तथा युट्यूबहरुमा समेत यसै अनुसार सूचना संप्रेषण भइरहेका छन् । कहिँ त वादविवाद भएर झगडै होलाजस्तो समेत देखिन्छ । कतिले असान्दर्भिक प्रसंग उठाएर घटनालाई मोड्न खोजेकोजस्तो पनि देखिन्छ तर अधिकांशको एउटै मत छ, निष्पक्ष छानबिन होस् भन्ने । 

सञ्चारकर्मी शालिकराम पुडासैनीको दिवंगत आत्माले शान्ति पाउनु पर्दछ, परिवारजनले न्याय पाउनु पर्दछ । रवी लामिछाने लगायत प्रहरी हिरासतमा रही अनुसन्धानको क्रममा रहेका सबैले न्याय पाउनु पर्दछ, यो सबै नेपालीको चाहना हो । मुद्दा नपरुञ्जेलको कुरा अर्कै भयो तर कुनै पनि मुद्दा परेपछि सोको न्यायिक निरुपणको लागि मुद्दा अदालतमा पुग्नु पर्दछ । तबमात्र न्यायको ढोका खुल्छ अनि दोषी निर्दोष आदिबारे प्रमाणको भार अध्ययन हुन्छ । 
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ अन्तर्गतका फौजदारी मुद्दाहरुको अनुसन्धान नेपाल प्रहरीले गर्ने, अभियोजन सरकारी वकिलले गर्ने र न्यायिक निरुपण अदालतबाट हुने भन्ने कार्यविधि बमोजिम अहिले मुद्दा अनुसन्धान पक्षको आँगनमा रहेको छ, नेपाल प्रहरीले विषयको शंवेदनशीलतालाई मनन गरी केन्द्रीय अनुसन्धान व्यूरोबाट विज्ञ टोली पठाई अनुसन्धानलाई थप मजबुत बनाएको देखिन्छ । 
निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान हुनु अगावै भएका विभिन्न अड्कलबाजी तथा प्रदर्शनले अनुसन्धानलाई प्रभावित बनायो । आजसम्म अपराधी पत्ता लाग्न नसकेको हाम्रो सामु छर्लङ्ग रहेको अवस्थामा पुनः शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भएका नारा, जुलुस तथा विभिन्न टिकाटिप्पणीहरुले अपराध अनुसन्धान र अभियोजन पक्षलाई प्रभावित पार्न सक्छ । हामी सबै सचेत नागरिकहरुले यसलाई गम्भीरताका साथ मनन गर्नु आवश्यक छ । 
राज्यका तर्फबाट कतै गलत भइहाल्छ कि, अनुसन्धान तथा अभियोजनमा कतै कमजोरी भइहाल्छ कि भनेर नागरिकहरु सचेत हुनु र खबरदारी गर्नु लोकतान्त्रिक अभ्यास हो । यसलाई राज्यले अन्यथा लिनु हँुदैन तर कसैले खबरदारी गर्दै गर्दा, आफ्ना विचारहरु राख्दा अरु कसैको हक अधिकारमा हनन् हुने गरी, कर्तव्य पालनामा असर पर्ने गरी, स्वाभिमान तथा प्रतिष्ठामा आँच आउने गरी गर्नु गराउनु हुँदैन । कागले कान लग्यो भन्दा कान छामेर मात्र प्रतिकृया दिनु उपयुक्त हुने नेपाली उखान अनुसार अनुसन्धान, अभियोजन पक्षको प्रत्येक पाईलामा निगरानी गर्दै, सल्लाह सुझाव दिँदै सहि र कानूनी कार्यविधि बमोजिमको अनुसन्धानमा सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो । त्यसका साथै हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्ने नेपाली उखान बमोजिम भीडमा हुन सक्ने आपराधिक घुसपैठ तथा सम्भावित क्षति, भिड मनोविज्ञान अनुसार उपस्थित व्यक्तिको मानसिकतामा हुने परिवर्तन र त्यसबाट हुन सक्ने प्रतिकृया समेतलाई विचार गरि वुद्धिमत्तापूर्ण निर्णय गर्नु हामी सबैको कानूनी तथा सामाजिक जिम्मेवारी हुन जान्छ । 
आम नेपालीहरुको चासोको विषयको रुपमा रहेको यो केशको अनुुसन्धान गर्ने पक्षले विगतमा कंचनपुर घटनाबाट गिरेको नेपाल प्रहरीको साख जोगाउने अवसरको रुपमा लिई प्रचलित कानून र कार्यविधिको पूर्ण पालना र मानव अधिकारको सम्मान गर्दै वैज्ञानिक अनुसन्धान गर्न जरुरी छ । फौजदारी न्यायको सिद्धान्त “सय अपराधी छुटुन् तर एक निरपराधी नपरोस्” भन्ने मान्यतालाई आत्मसाथ गर्दै व्यावसायिकता प्रदर्शन गर्नु अपरिहार्य छ । त्यसका साथै दिनदिनै भइरहेको हजारौँ मानिसको उपस्थिति र त्यसमा हुन सक्ने घुसपैठ, अवाञ्छित गतिविधि, पक्षविपक्षमा हुने प्रदर्शनमा हुन सक्ने झडप र सम्भावित क्षति आदिलाई मध्यनजर राखी चुस्त सुृरक्षा योजना बनाई योजना बमोजिम प्रहरी परिचालन गरी प्रदर्शनकारी तथा प्रहरीतर्फ कुनै पनि क्षति हुन नदिने वातावारण तयार गर्नु पर्दछ । कुनै पनि भौतिक सम्पत्तिको क्षति हुन नदिई सहज आवागमन व्यवस्थापन समेत गर्नु पर्दछ । देशको मध्यभागमा अवस्थित चितवन जिल्लाको वर्तमान चुनौतिपूर्ण शान्ति सुरक्षाको अवस्थालाई हृदयंगम गरी राज्यबाट साधन, श्रोत र जनशक्तिको भरपुर व्यवस्थापन हुन समेत जरुरी छ । 
हामी सबै नपालीको एउटै चाहना शान्ति सुरक्षा अमनचैन कायम होस्, स्व. शालिकराम पुडासैनीको मृत्युको सहि अनुसन्धान होस्, वास्तविक अपराधीले सजाय पाओस्, निरपराधी कोही पनि नपरोस् भन्ने हो । यो चाहना नेपाल प्रहरीलाई अनुसन्धानमा केन्द्रित गर्न सके मात्र पूरा हुन्छ । सहि अनुसन्धान हुन सक्यो भने मात्र सहि अभियोजन हुन्छ । सहि अनुसन्धान अभियोजनले मात्र मुद्दाको न्यायिक निरुपण हुन्छ, अपराध स्थापित हुन्छ र अपराधी निक्र्याल भई कानून बमोजिम हुन्छ भने निर्दोषले सफाई पाउँछ । तसर्थ हाम्रा कुनै पनि गतिविधिले अनुसन्धान, अभियोजन र न्यायलाई प्रभावित नबनाउन् । देशमा कानूनको शासन होस् भन्नेतर्फ हामी सबै सचेत भई व्यवहार गर्नु अहिलेको टड्कारो आवश्यकता हो । 


[email protected] (9855090555)

प्रतिक्रिया दिनुहोस