रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’

सूर्यप्रकाश कँडेल

शनिबार, ३२ साउन २०७६, १७ : ३९
रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’

हिजो अफिसको काम सकेर घर फर्कंदै थिएँ मोटरसाइकलमा । साँझको साढे ६ बज्दै थियो । जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि एउटा अराजक भीडले बाटो छेकेको रहेछ । भीडबाट एक जना करायो, ‘ए, हान् हान् ।’
आवाज आएतिर नजर पु¥याएँ । भीडको बीचमा चार जना युवा आफू अगाडिका दुई ओटा कारलाई कच्याककुचुक पारुँलाजस्तो गर्दै अगाडि बढे । एकाएक डर लागेर आयो । यो अराजक भीडमा पत्रकारको परिचय दिँदा झन् कुटाई खाइने सम्भावना पनि थियो । ‘रिस्क’ किन लिनु भन्ने सोचेर मोटरसाइकल फनक्क घुमाएर भरतपुर अस्पतालतर्फ आएँ । त्यहाँ पनि डीएसपी क्वार्टरको गेटअगाडि एउटा झुण्ड उपस्थित थियो । गेटभित्र प्रहरी र बाहिर रिसाएका केही दर्जन अनुहार आमनेसामने भइरहेका । त्यहाँ भने कसैले पनि भनेन, ‘ए, हान् हान्’ भनेर ।
जिल्ला प्रहरी कार्यालय पछाडिको बाटोहुँदै कृषि ज्ञान केन्द्रको अगाडि निस्केर चौबीसकोठीतर्फ मोडिएँ । सिधै त्रिचोक नाघेपछि घरतिर छिर्ने कुइनेटोबाट मोटरसाइकल गल्लीमा हुलेँ । घर पुगेर एक गिलास चिसो पानी पिएपछि सोचेँ, रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’ ।
० ० ०
माउन्टेन टेलिभिजन काठमाडौँमा कार्यरत २७ वर्षीय पत्रकार शालिकराम पुडासैनी गत साउन २० गते राति नारायणगढको पोखरा बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिए । होटलको कोठामा भित्रबाट ढोका र झ्यालको चुक्कुल लगाएको अवस्थामा नाइलनको डोरीको पासो लगाएर पत्रकार पुडासैनीले आत्महत्या गरेका थिए । प्रहरी अनुसन्धानले अन्यथा प्रमाणित नगरेसम्म अहिलेका लागि यो घटना आत्महत्या नै देखिन्छ । खाना खान तल नझरेपछि होटलका कर्मचारी र सञ्चालकले ढोका ढक्ढक्याएर बोलाउँदा ढोका नखुलेपछि प्रहरी आएर ढोका फुटालेको थियो । डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका शालिकराम पुडासैनीका आफन्त आएपछि साउन २१ गतेमात्र प्रहरीले लाशको मुचुल्का उठाएको थियो । मृतक पत्रकारका परिवारजनले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
पत्रकार पुडासैनीले मृत्युअघि मोबाइलमा रेकर्ड गरेको आफ्नै आवाजको भिडियोमा न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, सोही टिमका युवराज कँडेल र नर्स रुकु कार्की (अस्मिता) आफ्नो आत्महत्याका लागि जिम्मेवार रहेको उल्लेख छ । प्रहरीले सत्यता परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याब काठमाडौँ पठाएको यो भिडियो सम्पादन गरी सञ्चारमाध्यममा सार्वजनिक भयो । सबैभन्दा पहिले यो भिडियोको स्क्रिनसट फोटोसहित जनआस्था साप्ताहिकले गत साउन २९ गते प्रथम पृष्ठमा समाचार प्रकाशित ग¥यो । सोही दिन अर्थात् बुधबार नै नेपाल आज अनलाइन न्यूज पोर्टलको युट्युब च्यानलमा आठ मिनेटभन्दा लामो सोही भिडियो सार्वजनिक भयो । अहिले यो भिडियो युट्युब ट्रेन्डिङको एक नम्बरमा छ ।

यसरी लिक भएको रहेछ शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो

प्रहरीले अनुसन्धानमा प्रभाव पर्ने ठानेर गोप्य राखेको भिडियो युट्युबमै सार्वजनिक भएपछि त्यसको भोलिपल्ट बिहीबार राति प्रहरीले आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा काठमाडौँबाट रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की (अस्मिता) लाई पक्राउ ग¥यो । प्रहरीले तीनै जनालाई शुक्रबार चितवन अदालतमा हाजिर गराएको थियो । चितवन अदालतले तिनै जनालाई अनुसन्धानका लागि सोमबारसम्म हिरासतमा राख्न पहिलो पटक पाँच दिनको म्याद थप गरेको छ । बिहीबारबाट पाँच दिनको लागि भनिएकोले सोमबार पुनः उनीहरुलाई अदालत लगिने छ ।
० ० ०
रवि लामिछाने काठमाडौँमा पक्राउ परेको भोलिपल्ट शुक्रबार बिहानैदेखि भरतपुरमा जम्मा भएका उनका समर्थकले प्रहरी कामकारबाहीमा अवरोध आउने काम गरे । लामिछानेका समर्थकको अराजक भीडले शुक्रबार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत घेराउ र सडक अवरोध गरे । रवि लामिछाने र अन्य दुई जनालाई शुक्रबार अदालत पु¥याउन र फर्काउन प्रहरीलाई हम्मेहम्मे प¥यो । सडकमा आवतजावत गर्ने यात्रु र सवारीचालकमाथि आतंकित शैलीमा प्रस्तुत भए रविका अन्धभक्तहरु । शुक्रबार र शनिबार नै प्रहरीसँग झडप पनि भयो । केही प्रहरीका टाउका फुटाए रवि समर्थकले । अराजक भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास खर्चिनु प¥यो । यी सबै क्रियाकलापले प्रहरीलाई अनुसन्धान कार्यमा निर्वाध खटिन समस्या पारेको प्रष्ट देखिन्छ । 
शनिबार बिहानैदेखि भरतपुरमा रविका अन्धभक्तहरुको चहलपहल देखियो । प्रहरी र रवि समर्थकबीचको लुकामारी दिनभर चलिरह्यो । रविलाई पञ्चायतकालमा राजा रहेको दर्जामा पु¥याए उनका अन्धभक्तहरुले । ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नाराले पञ्चायतकालमा घन्किने ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारालाई सम्झायो । रविभक्तहरुले ‘भगवान श्री रविशरणको जय’ किन नभनेका होलान् ? गणतन्त्रमा प्रहरीलाई रगतपच्छे बनाउने अधिकार उनीहरुले पाएकै रहेछन् त । आफ्नो ‘भगवान’ लाई जयजयकार गर्न किन नपाउनु ?
कुनै पनि लोकतान्त्रिक मुलुकमा भीडले न्यायलाई प्रभावित गर्न पाइँदैन । भीडले नै अनुसन्धान गर्ने, न्याय दिने हो भने किन चाहियो प्रहरी र प्रशासन ? अनि किन चाहियो अड्डाअदालत ? रविभक्तहरु सामाजिक सञ्जालमा कुर्लेका छन्, ‘भ्रष्ट प्रहरी संयन्त्रबाट निष्पक्ष अनुसन्धान हुँदैन, अदालतले पनि अन्याय गर्न सक्छ ।’
उनीहरुलाई मेरो जवाफ यति मात्रै छ, ‘ए रविका भक्तहरु हो, तिमीहरुको अराजक भीडले नै सबै फैसला गर्ने हो भने किन चाहियो लोकतन्त्र ? किन ल्याए जनताले गणतन्त्र ? व्यक्तिको कमजोरी संस्था हुन सक्दैन । मन्त्रीहरु भ्रष्टाचारी भए भन्दैमा राज्य सञ्चालनको प्रणाली नै गलत हुन सक्दैन । सत्तामा पुग्ने जनमतले हो, भीडले होइन । सक्छौ भने फर्काएर देखाए हुन्छ राजतन्त्र यो मुलुकमा । होइन भने मुलुकमा अहिले गणतन्त्र छ भन्ने हेक्का रहोस् यो भीडलाई । गणतन्त्र मान्दैनौँ भन्ने हो भने घोषणा गरे हुन्छ विद्रोहको । यसो गर्न पनि सकिँदैन, त्यसो गर्न सकिँदैन भने यो अराजकता किन ? प्रहरीले अनुसन्धान गर्न नपाउने ? अदालतले न्याय निरुपण गर्न नपाउने ? 
मर्ने पत्रकार, पक्राउ पर्ने पत्रकार र यी पंक्ति लेख्ने पनि पत्रकार । पत्रकारमात्र होइन, सबैलाई छ पुडासैनी आत्महत्या प्रकरणबारे चासो र सरोकार । त्यसैले भीडलाई नियन्त्रण गर सरकार । ‘भीडतन्त्र मुर्दावाद । दोषी नऊम्कियोस् । निर्दोष नपरोस् । न्याय नमरोस् ।’

प्रतिक्रिया दिनुहोस