तेलमा दुई नम्बरी खेल

बेलचोकको स्वर्णिम प्याकेजिङ्ग उद्योगमा अनुगमन

चार दिनभित्र वार्षिक रिपोर्टसहित प्रशासनमा हाजिर हुन संचालकलाई निर्देशन

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १७ : ५१
बेलचोकको स्वर्णिम प्याकेजिङ्ग उद्योगमा अनुगमन

चितवन । नारायणगढ बेलचोक नौघरेमा रहेको स्वर्णिम प्याकेजिङ्ग उद्योगको अनुगमन गरिएको छ । 
उद्योगले सोयाबिनको तेल खरिद गरी सूर्यमुखी भनी बिक्री गरेको भन्ने गुनासोसहितको लिखित निवेदन कार्यालयमा परेको र विभिन्न सञ्चारमाध्याममा समेत समाचारहरु आएकाले त्यसको यथार्थ अवस्थाको बारेमा अध्यान गर्न अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्कि राउतले बताउनु भयो ।

उद्योगले सोयाबिन तेललाई सूर्यमुखी तेल भनी बिक्री गरी मानव स्वास्थ्यमा चरम खेलवाड र राजस्वमा समेत ठगी गर्ने गरेको समाचार सफल खबरले प्रसारण गरेको थियो । त्यही समाचार र कार्यालयमा परेको उजुरीका आधारमा अनुगमन भएको हो । 

सोयाबिनको तेल रातारात बन्छ सूर्यमुखी तेल

सूर्यमुखीको तेल भनेर सोयाबिनको तेल बिक्री गर्ने गिरोह सक्रिय

उद्योगको अनुगमन गर्दा उद्योगले उत्पादन बन्द गरेको भेटिएको र आफूहरुले तेलको खरिद र बिक्री सबै विवरणहरु शुक्रबारसम्म कार्यालयमा पेश गर्न भनेको कार्यालय प्रमुख राउतले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन स्रोतव्यक्ति उमेश पन्थी , उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका बरिष्ठ उपाध्यक्ष बिष्णु भुषाल, खाद्य कार्यालयका प्रमुख बिक्कि राउत लगायत संयुक्त अनुगमन टोलीको सहभागिता रहेको थियो ।
आफूहरुले ४ दिनको समय सीमा दिएको र त्यति समयसम्म पनि आवश्यक कागजात कार्यालयमा पेश नभए आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने उहाँ बताउनु हुन्छ ।
अनुगमनका क्रममा उद्योगका संचालक निरन्जनलाल श्रेष्ठले आफूहरुले सोयाबिन ल्याएर सूर्यमुखी  भनी बिक्री नगरेको बताउनु भयो । सनफ्लावर ल्याएर सनफ्लावर नै भनेर बिक्री गरेको र सोयाबिन ल्याएर सोयाबिन नै भनेर बिक्री गर्ने गरेको दाबी उहाँले गरे पनि खरिद बिल भने देखाउन सक्नु भएन । श्रेष्ठले अनुगमनमा पुगेको टोलीलाई खरिद बिल र बिक्री बिल  देखाउन नसकेपछि शुक्रबारसम्मको समय सीमा दिएर अनुगमन टोली फर्किएको हो ।  
एकाउन्टेन्ट बाहिर गएको र अहिले बिल देखाउन नसक्ने भनेर श्रेष्ठ पन्छिन खोजेपछि टोलीले १ वर्षको सबै बिवरण लिई शुक्रबारसम्म कार्यालयमा आउन भनेको छ । उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष बिष्णु भुषालले सबैजसो तेल उद्योगले तेलमा दुई नम्बरी गर्ने काम गरेकाले सबैको अनुगमन गरी दोषी देखिएमा हदैसम्मको कारबाही गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस