काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ३७ रनले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । ओमान भने सोमबार भएको खेलमा यूएईसँग २५ रनले पराजित भएको टिम हो ।
पुरानो प्रतिद्वन्द्वी ओमान
लिग–२ को अघिल्लो चक्रमा सन् २०२० फेब्रुअरीमा ओमानले नेपाल भ्रमण गर्दा नेपाली टोलीको स्वरूप निकै फरक थियो । त्यतिबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालविरुद्ध ओमानले कीर्तिपुरमा ‘क्लिन स्विप’ गरेको थियो । संयोगवश, सोही शृङ्खला नै नेपालको घरेलु मैदानमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।
चार वर्षअघिको त्यो टोलीका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी अहिले पनि टोलीमा छन् । तर, ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले त्यतिबेला डेब्यु गरेका थिएनन् । अहिले नेपाली टोलीको कमान रोहित पौडेलको हातमा छ भने ओमानको नेतृत्व जतिन्दर सिंहले गरिरहेका छन् ।
लिग २ मा नेपाल अहिले २१ खेलबाट १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्ष चारभित्र रहँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न नेपाललाई बाँकी रहेका १५ खेलमध्ये करिब १२ खेल जित्नुपर्ने दबाब छ । कप्तान रोहित पौडेलले ब्याटिङमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
पहिलो खेलमा यूएईविरुद्ध २०० रन मात्र बनाएको नेपालका लागि ओपनिङ जोडी आसिफ र कुशलको प्रदर्शन निर्णायक हुने देखिएको छ । विशेष गरी घरेलु क्रिकेटमा लयमा देखिएका आसिफबाट टोलीले ठूलो इनिङ्सको अपेक्षा गरेको छ । ओमानका बिलाल खान र कलिमुल्लाहको बलिङ अट्याक नेपालका लागि मुख्य चुनौती बन्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ बैशाख २०८३, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई
विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ः नेपालको लगातार दोस्रो हार
विश्वकप लिग-२ : युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल
विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल