तेलमा दुई नम्बरी खेल

सोयाबिनको तेल रातारात बन्छ सूर्यमुखी तेल

मानव स्वास्थ्यमा चरम खेलवाड गर्दै स्वर्णिम प्याकेजिङ्ग उद्योग

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १३ : २७
सोयाबिनको तेल रातारात बन्छ सूर्यमुखी तेल

चितवन । नारायणगढको बेलचोेक नौघरेमा रहेको स्वर्णिम प्याकेजिङ्ग उद्योग प्रालिले उपभोक्ता स्वास्थ्यमाथि निकै ठुलो खेलबाड गरेको छ । खाने तेल उत्पादन गर्दै आएको यो उद्योगले नियमनकारी सरकारी निकायको आँखामा छारो हाली उपभोक्ताको स्वास्थ्यमा चरम खेलवाडका साथै राज्यको लाखौँ रुपैयाँ कर ठगी गर्ने गलत धन्दामा सक्रिय भएको छ । 
केहि समय अगाडिसम्म सनरेज ब्राण्डकै तोरीको तेल उत्पादन गरेको यो उद्योगले अहिले सनरेजकै सूर्यमुखी तेल उत्पादन गरेको छ । उद्योगले सोयाबिनको तेल खरिद गरेर आफ्नो ब्राण्ड हाली सूर्यमुखी भनेर बजारमा बिक्री गरेको पाइएको छ । उसले तेल खरिद गरेको बिलमा सोयाबिन भनी उल्लेख छ । त्यही तेल उद्योगमा ल्याएर प्याकेजिङ गरी बजारमा पठाउँदा सोयाबिनलाई सूर्यमुखी बनाएर बिक्री गरेको पाइएको छ । 
उद्योगले खरिद गरेको तेल र उत्पादन गरी बिक्री गरेको अवस्था हेर्दा सिधै राज्यलाई चुनौती दिँदै मानव स्वास्थ्यमाथि खेलवाड र ठगी गर्दै रातारात धनी बन्ने गलत धन्दाका पछाडि उद्योग सञ्चालक लागेको प्रष्ट हुन्छ । उद्योगको यो ठगी धन्दाबाट उपभोक्ता सिधै आर्थिक रुपमा पनि ठगिन पुगेका छन् भने सोयाबिनलाई सूर्यमुखी भनेर बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड भएको छ । यसले राज्यलाई पनि राजस्वमा समेत ठगी गरेको छ । 
उद्योगले अहिले बाहिरी जिल्लाबाट पेलिएको सोयाबिन तेल ट्यांकरमा हालेर ल्याएर यहाँ पोका बनाएर सूर्यमुखी भनेर बिक्री गरेको छ । उद्योगका संचालक निरञ्जनलाल श्रेष्ठले आफूहरुले सूर्यमुखी तेलमात्रै उत्पादन गर्ने बताउनु भयो ।

सोयाबिन खरिद गरी ल्याएर सूर्यमुखी भनी बिक्री गर्नु उपभोक्ता र राज्यमाथिकै ठगी भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रदिप काफ्लेले बताउनु भयो । खाद्य ऐनमा कुनै पनि बस्तुमा मिसावट गरी बिक्री गरेको पाइएमा संचालकलाई ५० हजारसम्म जरिवना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ । 
केही उद्योगीहरुले राज्य र उपभोक्तालाई ठगी लुटधन्दा मच्चाएका छन् । उनीहरुले जनस्वास्थ्यमा गम्भीर असर पर्ने लापरबाहीपूर्ण काम गरेर गैरव्यावसायिक आचरण प्रस्तुत गरेका छन् । केही उद्योगहरुको प्रमाण सहित आएका गुनासोहरुलाई आधार बनाएर खोजी गरी हामीले थप केही उद्योगीको ठगी धन्दाको पर्दाफास गर्ने तयारी गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस