सुरु भयो देशव्यापी चिकित्सा शिक्षा सुधार अभियान

उर्गेन तामाङ

आइतबार, २६ साउन २०७६, १२ : २५
सुरु भयो देशव्यापी चिकित्सा शिक्षा सुधार अभियान

चितवन । मेडिकल कलेजका विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियान सञ्चालन गरेका छन् । मेडिकल शिक्षामा देखिएका विकृतिलाई अन्त्य गर्न र विद्यार्थीमैत्री चिकित्सा शिक्षाका लागि विद्यार्थीहरुले शनिबारदेखि देशव्यापी रुपमा विद्यार्थी जागरण अभियान सञ्चालन गरेका हुन् । 
उनीहरुले पहिलो चरणमा विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुसँग भेटघाट, अन्तरक्रिया थालेका छन् । चितवन मेडिकल कलेजबाट सुरु भएको यो अभियान अन्तर्गत शनिबार पोखरामा रहेको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुसँग छलफल गरिएको चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी प्रविन तामाङले बताए । 
मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिँदा विद्यार्थी र अभिभावक ठगिएको, चिकित्सा शिक्षा महंगो हुँदा सेवा शुल्क पनि महंगो बन्दै गएको, धेरै ठुलो धनरासी खर्च गरेर पढाई सकेका डाक्टर तथा नर्सहरुले थोरै तलबमा काम गर्नु परेको लगायत विभिन्न विषयमा देशव्यापी छलफल अभियान सुरु गरिएको विद्यार्थीहरुको भनाई छ । 
अब क्रमैसँग चिकित्सा शिक्षामा देखिएका समस्या, समाधानका उपाय लगायतका विविध विषयमा अन्य मेडिकल कलेजका विद्यार्थीहरुसँग पनि छलफल गर्ने प्रविनले बताए । पहिलो चरणको अभियानबाट सवै विद्यार्थीहरुको सल्लाह अनुसार देशव्यापी संघर्ष समिति गठन हुने छ । उक्त समितिले विद्यार्थीहरुको छलफलबाट निस्किएको निष्कर्षलाई सरकार र मेडिकल कलेज लगायत सम्बन्धित पक्ष सामु पु¥याउने, माग सुनुवाईका लागि विभिन्न दबावमुलक कार्यक्रम गर्ने, पत्रकार सम्मेलन गर्ने लगायतका अन्य धेरै योजनाहरु रहेको अभियानका सदस्य प्रविनले जानकारी दिए । 
मागका विषयमा मेडिकल शिक्षासँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने, मेडिकल कलेज सञ्चालकहरुसँग छलफल गरेर उनीहरुको बाध्यता र समस्याका विषयमा पनि जानकारी लिने, विद्यार्थीलाई परेको समस्याबारे ध्यानाकर्षण गराउने लगायतका कार्यक्रम रहेका छन् । 

सुधारको माग
सरकारले तोकेको भन्दा बढी शुल्क तिर्नुपर्दा मेडिकल कलेजका विद्यार्थीहरुसँगै अभिभावकलाई मानसिक तथा आर्थिक तनाव हुने गरेको उनीहरुको भनाई छ । सरकार आफैले निर्धारण गरेको शुल्क कडाईका साथ कार्यान्वयन नहुँदा विद्यार्थी र अभिभावक ठगिएकाले अभियान सञ्चालन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ । 
एमबिबिएस, विडिएस, बिपीएच, बिएससी नर्सिङ, बिएन लगायत सबै तहका विद्यार्थीले तोकिएको भन्दा बढी शुल्क तिर्नुपर्ने समस्याको अन्त्य गर्नुपर्नेमा उनीहरुको जोड छ । एमबिबिएसका विद्यार्थीसँग उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार सरकारले शुल्क तोके पनि अधिकांश मेडिकल कलेजले २० लाखसम्म बढी शुल्क लिने गरेको छ । 
बढी शुल्क लिएको विरोधमा विभिन्न कलेजमा विद्यार्थीहरुले आन्दोलन गरे पनि सरकारले ठोस कदम नचाल्दा समस्या समाधानका लागि सुधार अभियान सुरु गर्नुपरेको प्रबिनको भनाई छ । उनले भने, ‘मेडिकल कलेजले विद्यार्थीहरुबाट लिएको कतिपय शुल्कको रसिद नदिँदा विद्यार्थीहरु थप तनावमा पर्ने गरेका छन् ।’ 
विद्यार्थीहरुले सरकारले निर्धारण गरेको शुल्क कडाईका साथ कार्यान्वयन गराउनु पर्ने, मेडिकल कलेजले पनि हुबहु कार्यन्वयन गर्नुपर्ने, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सवैको पहुँचमा सहज रुपमा पु¥याउन सरकारले लगानी बढाउनु पर्ने, जतिसक्दो धेरै विद्यार्थीहरुलाई छात्रावृत्तिबाट पढाउनु पर्ने, डाक्टर, नर्सहरुको समयअनुकुल न्युनतम तलबमान तोक्नुपर्ने, पुरानो पाठ्यक्रमलाई समयानुसार परिवर्तन गरी आधुनिक बनाउनु पर्ने लगायतका मागलाई अभियानले अघि बढाइरहेको छ । 

माग पूरा नभएसम्म अभियान
आफूहरुको अभियान विशुद्ध चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउनु पर्ने, मेडिकल शिक्षा पैसा हुनेहरुको मात्रै अखडा नबनोस् लगायत आम नेपालीहरुको स्वास्थ्य जस्तो आधारभुत आवश्यकताका विषयमा केन्द्रित रहेको उनले प्रष्ट पारेका छन् । उनले अभियान कुनै राजनितिक दल, संघ, संस्थाको स्वार्थबाट प्रेरित नभएकाले सबै मेडिकल शिक्षा र स्वास्थ्य सुधारका पक्षधरहरु एक हुन आग्रह पनि गरे । 
माग पूरा नभएसम्म विभिन्न विद्यार्थी संघ, संगठन लगायत सरोकारवाला पक्षसँग चरणबद्ध रुपमा परामर्श गर्दै अभियानलाई निरन्तरता दिने उनीहरुको योजना रहेको छ । उनले भने ‘यो अभियान विद्यार्थीहरुको अभियान हो, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको अभियान हो, अरु कुनै स्वार्थ छैन, समस्या समाधानका लागि मात्रै हो ।’ उनले सरकारले तोकेको शुल्क कार्यान्वयन नहुनु दुखद मात्रै नभई मनपरितन्त्र मौलाउदै गएकाले यस्को अन्त्य गर्नु पर्नेमा जोड दिए । माग पूरा नभएसम्म अभियान जारी रहने उनले बताए । 

प्रतिक्रिया दिनुहोस