महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो गर्न नपाएका हुन् ।
रातको समयमा खुला ठाउँमा दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाएर मनाइने यो पर्व वर्षाले प्रभावित भएको स्थानीय बताउँछन् । अब भने मिथिलानी यो पर्वको समापनको तयारीमा जुटेका छन् ।
“हामीले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन पाएनौँ, अब समापनको बेला आइसक्यो । बाँकी विधि राम्ररी रमाइलो गर्दै समापन गर्ने तयारीमा छौँ”, भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले भनिन्, “दाजु समापनमा आउने पक्का भएको छ ।” उनका अनुसार कात्तिक शुक्ल पञ्चमी अर्थात् यसपटक सम्पन्न छठपर्वको खरनाका दिनदेखि सुरु गरिएको सामा कात्तिक पूर्णिमाका दिन समापन गरिँदै छ ।
मिथिलामा दाजुभाइ/दिदीबहिनीबिच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ । यो मिथिलानीबीच समूहमा गीत गाउँदै मनाइने रमाइलो खेल हो । त्यसैले यसलाई ‘सामा खेल्ने’ पनि भनिन्छ ।
अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि गर्ने र मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई बोलाउन व्यस्त भएका हुन्
“भैयाके खबर कैने छि, ओ अयबे करता (दाजुलाई खबर गरेकी छु, उहाँ आउनु हुन्छ)”, बुधबार सामा समापनको तयारीमा रहेकी बर्दिवास–२ की सङ्गीता मुखियाले भनिन्, “आब भैयाके लेल मरमिठाइके जोगारमें लागल छि” (अब दाजुका लागि मिष्ठान्न परिकार जुटाउन लागेकी छु) ।
आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरूको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको मुखियाले जानकारी दिइन्।
“रातिको समयमा टोलभरिका मन मिल्ने साथीहरू जम्मा भएर आआफ्ना दाजुभाइलाई सम्झँदै सामा गीत गाउँछौँ, यतिखेर मन खोलेर सखीसँगीबीच ख्यालठट्टा गरिन्छ”, बर्दिवास–९ की सुधा महतोले भनिन्, “हामीलाई साथीसँगीबीचको जमघटको रमाइलोले ११ दिन बितेको पत्तै हुँदैन ।”
मिथिलानीजस्तै दाजुभाइलाई पनि सामाको पर्खाइ हुन्छ । दिदीबहिनीबाट पाउने प्रेम र समर्पणले मैथिल दाजुभाइ हर्षित हुन्छन् । पर्वका माध्यमले दिदीबहिनीले गीतमार्फत आपूmहरूप्रति दर्शाएका प्रेम र समर्पण भावले प्रत्येक मैथिल गर्व गर्छन् । “सामामा दिदीबहिनीले गीतमार्फत दर्शाउने प्रेमले यी हुनुको खुसी मिल्छ”, भङ्गाहा–४ का नन्दन चौधरी थारुले भने, “गीतमा दिदीबहिनीले दर्शाएका भावले ऊर्जा दिन्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु