गंगालाल हृदय केन्द्रका निर्देशकमा कसले मार्ला बाजी ?

डा रमेश कोइराला, डा. युवराज लिम्बू र डा चन्द्रमणि अधिकारी कार्यकारी निर्देशक हत्याउने प्रतिस्पर्धामा

सफल खबर संवाददाता

बुधबार, २२ साउन २०७६, ०८ : ३४
गंगालाल हृदय केन्द्रका निर्देशकमा कसले मार्ला बाजी ?

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक बन्नका लागि दौडधुप शुरु भएको छ । अहिलेका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माको कार्यकाल यसै महिना सकिने भएपछि सो पदको नियुक्तिका लागि आकाङक्षीहरुको दौडधुप शुरु भएको अस्पताल स्रोतले बताएको छ ।

आकाङक्षीमध्ये कतिपय विचौलियामार्फत शक्तिकेन्द्रसम्म पुग्न थालेका पनि छन् । अस्पतालमा वरिष्ठताका आधारमा कार्यकारी निर्देशक बनाउनु पर्ने माग जब्बर रुपमा उठेपनि शक्तिकेन्द्र धाउने प्रवृत्तिले वरिष्ठताको मापदण्ड मिचिने सम्भावना बढी देखिएको अस्पताल स्रोतले बताएको छ ।

नयाँ नियुक्ति हत्याउन को सफल हुन्छ भन्ने चर्चा र चासो सुरु भएको छ । एक वर्षमा मात्र झन्डै २ लाख बिरामीलाई सेवा प्रवाह गर्ने गंगालाल हृदय केन्द्रका कर्मचारीले सिनियर कन्सल्टेन्ट डा. रामेश कोइरालालाई अबको नेतृत्व दिइनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीदेखि तालुकदार मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिवलाई समेत हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । 

गंगालालका मौजुदा चिकित्सकमध्ये सबैभन्दा वरिष्ठ हुन्, डाक्टर रवि मल्ल । डा मल्लले अस्पतालको नेतृत्व लिन त्यति चासो नदेखाएपछि कर्मचारीले वरिष्ठताकै आधारमा विकल्प खोजिनुपर्ने भन्दै डा कोइरालालाई नेतृत्व दिनुपर्ने भन्दै डेलिगेशन शुरु गरेका हुन् ।

सम्बद्ध स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री केपी ओली निकट स्रोतका अनुसार सो पदका लागि गंगालालमै कार्यरत डा. युवराज लिम्बू र डा. चन्द्रमणि अधिकारीको नाम अहिले चर्चामा छ ।

चर्चामा रहेका डा. युवराज लिम्बू डा कोइरालाभन्दा एक तह ‘जुनियर’ र डा. चन्द्रमणि अधिकारी दुई तह ‘जुनियर’हुन् । डा लिम्बू तालुकदार मन्त्री यादवसँग निकट मानिन्छन् भने डा अधिकारी प्रधानमन्त्री ओली निकट ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अधिकांश कर्मचारीहरू भने राजनीतिक दल र सत्ताको प्रभावमा ‘सिनियर’हरुलाई पन्छाएर कार्यकारी निर्देशक नियुक्त गर्दा अस्पतालको छवि धमिलो हुने मात्र नभएर अस्पतालको व्यवस्थापकीय पक्षमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भन्दै चिन्तित देखिएका छन् ।

बालुवाटार स्रोतले भने गंगालालको नेतृत्वबारे बालुवाटारमा सामान्य छलफल भए पनि कुनै निर्णय भइनसकेको बताएको छ ।

‘गंगालालकै नेतृत्व लिइसकेका कहलिएका एकजना डाक्टरसाबले डा. अधिकारीलाई बनाउनुपर्छ भन्दै लबिङ गरिरहनुभएको छ,’स्रोतले भन्यो, ‘तर गंगालालमा सक्षम नेतृत्व चाहिन्छ भन्नेमा प्रधानमन्त्री पनि सचेत हुनुहुन्छ । कनिष्ठलाई नेतृत्व दिएर हुनसक्ने जोखिमबारे पनि छलफल होला नै ।’ प्रधानमन्त्रीका एक सल्लाहकारले भने ।

उता, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गंगालालको कार्यकारी निर्देशकका लागि आफ्नै सल्लाहकार परिषदका सदस्य डा. लिम्बूलाई प्राथमिकतामा राखे पनि उनी यस विषयमा अझै छलफल गर्ने ‘मुड’मा छन् ।

प्रधानमन्त्री ओली र उपप्रधन तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका बीचमा यो विषयमा छलफल भने भईनसकेको स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस