एक वर्षमा प्राकृतिक कारणले ४३ वटा गैंडा मरे

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, १७ : ४६
एक वर्षमा प्राकृतिक कारणले ४३ वटा गैंडा मरे

चितवन । एक वर्षको अवधिमा प्राकृतिक कारणले ४३ वटा गैंडा मरेका छन् । २०७५÷०७६ मा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ३४ वटा, मध्यवर्ती क्षेत्रमा ७ वटा र डिभिजन वन चितवनभित्र २ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जले आज आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै प्राकृतिक कारणबाट गैंडाको मृत्यु भयावह बन्दै गएको जनाएको छ । कार्यक्रममा प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो, ‘केही गैंडा एकआपसमा लडेर मरेका छन्, केही घोलमा फसेर निस्कन नसकी मरेका छन्, केही गैंडा बाघको आक्रमणबाट पनि मरेको छन् ।’ कार्यक्रममा उहाँले प्राकृतिक कारणले गैंडाको मृत्युदर डरलाग्दो रुपमा बढिरहेको बताउनुभयो । 

निकुञ्जका अनुसार प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । मरेकामध्ये २३ वटा गैंडा के कति कारणले मरे पत्ता लाग्न नसकेको निकुञ्जको भनाइ छ । मरेका मध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुन समेत सकेको छैन ।

भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट गैंडा मरेको निकुञ्जको भनाइ छ । निकुञ्जले चालू आर्थिक वर्षमा पटकपटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेको हुनसक्ने पनि जनाएको छ । प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् ।

कार्यक्रममा प्रमुख ढकालले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा जेठ महिनाबाहेक बाँकी ११ महिना नै प्राकृतिक कारणले गैंडा मरेको फेला परेको छ ।’ दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीको बगाएको ९ वटा गैंडा निकुञ्जले भारतबाट ल्याएको प्रमुख ढकालले जानकारी दिनुभयो । 

बाढीले तितरवितर पार्दा अलमलमा परेर वा स्वास्थ्यमा आएको खराबीले पनि गैँडा मरेको अनुमान निकुञ्जले गरेको छ । चालु आर्थिक वर्ष प्राकृतिक कारणले धेरै गैंडा मरेपछि यही वर्ष गैंडा गणना गर्ने कार्यक्रम तय भएको थियो । 
‘बजेट अभावका कारण आगामी वर्ष चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना हुने भएको छ’ प्रमुख ढकालले बताउनुभयो । सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए ।

योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् । तर प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेको छ । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । 

यस्तै एक वर्षको अवधिमा आठ वटा बाघ, १४ वटा चित्तल, ३ वटा बँदेल र ९ वटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल, तराई भूूपरिधि कार्यक्रमका कमल राई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ललगायतले वन्यजन्तु संरक्षणमा जोड दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस