काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ। केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन्। अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो। पानी र जमिन दुवै स्थानमा सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरिएको सेनाले जनाएको छ।
गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो। सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको करिब एक साताअघि पानीमुनि ९अन्डरवाटर० समेत सेनाले गुणस्तर मापन गरेको थियो। सेनाले विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट ल्याउने गरेको छ।
सेनाले एक साताअघि सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो। परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको बताए। उनले भने, ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो। उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन।’
विस्फोटकमा आत्मनिर्भर हुने प्रयत्न भइरहेका बेला आफ्नो उत्पादनबारे निहित स्वार्थ बोकेका ठेकेदार कम्पनीले गलत प्रचार गर्न थालेपछि सेनाले विस्फोटकको तुलनात्मक परीक्षण गरेको हो। संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले सेनाद्वारा उत्पादित २ मेट्रिक टन विस्फोटक लगेको छ। अरुण तेस्रोले आगामी ५ वर्षभित्र ५ हजार ३ सय मेट्रिक टन विस्फोटक चाहिने जानकारी सेनालाई गराएको स्रोतले बताएको छ। सेनाले सुनाचुरीमा उत्पादन गरेको विस्फोटक किन्न अरुण तेस्रो इच्छुक देखिएको छ।
विस्फोटकमा आत्मनिर्भर हुने प्रयासबीच आयात गर्ने कम्पनीले गलत प्रचार गरेपछि जंगी अड्डाले आफ्नो उत्पादनको गुणस्तर मापन गरेको हो। सेनाले जमिन प्वाल पार्न, स्टिल काट्न र पहाड फोड्न ती विस्फोटक पदार्थ परीक्षण गरेको थियो। परीक्षणमा सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक विदेशी कम्पनीको उत्पादन सरहकै गुणस्तर पाइएको थियो।
जमिनमा प्वाल पार्ने क्रममा सुनाचुरीको विस्फोटकको क्षमता बढी देखिएको थियो। एक विदेशी कम्पनीबाट उत्पादित विस्फोटकले मात्र स्टिलको पूरै पाता छिनालेको थियो। सुनाचुरीलगायत अन्य दुई विदेशी कम्पनीबाट उत्पादित विस्फोटकले स्टिलको पाता छिनाल्न सकेन। परीक्षण क्रममा सुनाचुरीलगायत दुई विदेशी कम्पनीका विस्फोटकले स्टिलको पाता बंग्याएको मात्र थियो। ती विस्फोटकले स्टिललाई दुई टुक्रा पार्न सकेनन्। चट्टान फोड्नसमेत विदेशी कम्पनीका विस्फोटकसरह नै सुनाचुरीको विस्फोटकले काम गरेको सैनिक स्रोतले बताएको छ।
नेपालमा बर्सेनि ५–७ हजार मेट्रिक टन विस्फोटक पदार्थ खपत हुँने गरेको छ। प्लान्ट अभावमा विगतमा धेरै विस्फोटक उत्पादन हुन सकेको थिएन। अहिले सेनाले सुनाचुरीमा एउटा प्लान्ट थपेको छ। दुई प्लान्टले पूर्ण क्षमतामा उत्पादन गरे नेपाललाई आवश्यक विस्फोटक पदार्थ सुनाचुरीबाट उत्पादन गर्न सकिने सेनाले जनाएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०४ असार २०७६, ०७ : ०४
लेखकबाट थप