बाबु नै बलात्कारी

तेह्र वर्षीया छोरी बलात्कार गर्ने थुनामा : हाडनाता करणी मुद्दामा फैसला आउन ढिलाई

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १६ : ५०
तेह्र वर्षीया छोरी बलात्कार गर्ने थुनामा : हाडनाता करणी मुद्दामा फैसला आउन ढिलाई

काठमाडौं । बलात्कार मुद्दामा समयमै फैसला हुन नसक्दा पीडित एक बालिकाले न्याय पाउनमा ढिलाई भएको छ । 
काठमाडौँमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेपछि काठमाडौँ जिल्ला अदालतमा हाडनाता करणी मुद्दा परेको ३ महिना बितिसक्दा पनि फैसला आउन सकेको छैन ।
पाटन उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरका अनुसार महिला तथा बालिबालिकाको विषय संवेदनशील विषय हुने भएकाले बेलाबेलामा सुनुवाई गरी ३ महिनाभित्रै फैसला दिनु पर्छ । 
हाडनाता करणीको यो मुद्दा माघको १५ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको थियो । यो मुद्दा जिल्ला न्यायधीश चित्रबहादुर गुरुङको इजलासले हेर्दै आइरहेको छ । मुद्दा पेशीमा चढाउन ढिलाई हुँदा न्यायमा विलम्ब भइरहेको छ । 
पीडितकी आमा (३१) ले पीडकका दाजुभाइले मुद्दालाई प्रभावित पार्न पैसाको बलमा चलखेल गरेको आरोप लगाइन् । पीडित छोरीले चाँडोभन्दा चाँडो न्याय पाउनु पर्ने उनको माग छ । ‘पीडितलाई न्याय र अपराधीलाई सजाय हुनु पर्छ’ उनले भनिन् ।
यस्तो छ घटनाक्रम
पीडितकी आमाले दिएको जानकारी अनुसार पीडकले विगत दुई वर्षदेखि डर देखाएर जबरजस्ती करणी गर्दै आइरहेका थिए । ‘मंसिर ७ गते राति साढे ११ बजे श्रीमानले मलाई कुटपिट गरेका थिए’ पीडितकी आमाले भनिन्, ‘घटनाको भोलिपल्ट मैले १०० नम्बरमा फोन गरेपछि प्रहरी आएर उनलाई महानगरीय प्रहरी वृत्त बालाजुमा थुनामा राख्यो ।’ 
पीडित बालिकाकी आमाले अगाडि भनिन्, ‘प्रहरीले श्रीमानलाई पक्राउ गरेपछि छोरीले आफूमाथि पनि कुटपिट हुँदै आइरहेको बताइन् ।’ त्यतिबेला पीडकका दाजुभाइले डरधम्की देखाई त्यो घटनालाई घरेलु हिंसा अन्तर्गत मिलापत्र गराएका थिए । पीडकलाई उनका दाजु–भाईको जिम्मेवारीमा गल्ती नदोहो¥याउने शर्तमा थुन मुक्त गरिएको थियो ।
पीडकले त्यसपछि पटक–पटक आमा र छोरी दुबैलाई डरधम्की देखाउने, दुव्र्यवहार गर्ने गरेका थिए । सहनै नसक्ने भएपछि पीडितकी आमाले महानगरीय प्रहरी वृत्त कालिमाटीको महिला सेलमा मुद्दा दर्ता गरिन् । पुसको १५ गतेबाट फरार रहेका उनलाई प्रहरीले माघ १५ गते पक्राउ गरेको थियो । अनुसन्धानका लागि २४ दिनसम्म कालिमाटी हिरासतमा रहेका पीडक त्यसपछि अदालतको आदेशबाट पूर्पक्षको लागि थुनामा छन् ।
चितवनको भरतपुरमा रहेको घर, जग्गा पीडकले बिक्री गरेपछि गत वर्ष साउनदेखि काठमाडौँमा बस्दै आइरहेको पीडितकी आमाले बताइन् । पीडकका अन्य दाजुभाई पनि काठमाडौँमा छन् । उनीहरुले पैसाको बलमा मुद्दा प्रभावित पार्न खोजेको, पेशीमा चढ्नमा ढिलाई गराइरहेको पीडित पक्षको आरोप छ । 
लुकाइयो सम्पत्ति
पीडक र उनका दाजुभाइले आफूहरुलाई अंश दिनु पर्ने अवस्था आउने अनुमान गरी सम्पत्ति लुकाएको पीडित पक्षले जानकारी दिएको छ । ‘चितवनमा भएको घरजग्गा बिक्री गरेको २ करोड ४० लाख रुपैयाँ र कतारमा रहँदा कमाएको ३० लाख रुपैयाँ अहिले कहाँ छ भन्ने हामीलाई थाहा छैन’ पीडितकी आमाले बताइन् । 
पीडकको दाजु अध्यक्ष रहेको काठमाडौंस्थित एक सहकारीमा पीडितकी आमाको खातामा ९ लाख रुपैयाँ थियो । त्यसमध्ये २० हजार रुपैयाँ पीडकलाई मुद्दा दिनुअघि निकालेको र बाँकी आठ लाख ८० हजार रुपैयाँ झिक्न नपाएको पीडितकी आमाले बताइन् । सहकारीमा रहेको पैसा पनि झिक्न जेठाजुले रोक लगाएपछि छोराछोरीको रिजल्ट लिन र विद्यालय भर्ना गर्न समेत समस्या भएको पीडितकी आमा बताउँछिन् ।
‘नानीबाबुहरुको स्कुलमा फि बुझाउन पाएको छैन’ पीडितकी आमाले भनिन्, ‘पीडामाथि थप पीडा भएको छ । दुई छोरा र एउटी छोरीलाई कसरी पढाउने ?’

प्रतिक्रिया दिनुहोस