Safal Khabar - निबन्ध : भुइँ छाड्दा
आइतबार, ०८ बैशाख २०७६ (Sunday, 21 April, 2019)
निबन्ध : भुइँ छाड्दा
मङ्गलबार, १९ चैत २०७५, १५ : ५७
निबन्ध : भुइँ छाड्दा

– डा. मतिप्रसाद ढकाल
दशैँमा भुइँ छाड्नुपर्छ भनेको सुने पनि मलाई दशैंमा भुइँ छाडेर रमाउने रहर कहिल्यै पलाएन । दशैँतिहारमा बाहेक कसैले पनि भुइँ छाड्नुपर्छ भनेर छाड्ने कुराको प्रशंसा गरेको सुन्न पनि मैले पाएको छैन । जुट्नभन्दा फुट्न मन पराउने नेपाली समाजको प्रवृत्ति भए पनि अङ्कमाल गरिरहेको कुरालाई छाड्दा कसैको मन रमाउँदैन । सत्तामा टाँसिएका व्यक्तिहरूमात्र होइन सामाजिक प्रपञ्चमा फसिरहेका हामीहरू कसैले पनि हत्तपत्त कुनै चीज छाड्न चाहँदैनौँ । भुइँ छाडेर चराझैं जतासुकै घुमे पनि हामी भुइँमै रहेको आफ्नै गुँडमा रमाउन चाहन्छौँ । हामीलाई गुरुत्वाकर्षको सिद्धान्तले पनि भुइँमै रहेर रमाउन सिकाउँछ ।

मलाई आफ्नी आमाले सुनाउनु भएअनुसार मैले शैशवकालमा समेत भुइँ छाडेर काखमा र कोक्रामा रमाउने अवसर प्राप्त गरिनँ । बिहानै झिसमिसेमा कामका लागि घरबाट बाहिरिनुहुने आमाबुबाले मलाई काखमा लिएर खेलाउने अवसर पाउनुभएन । पौष्टिक आहारको त कुरै छोडौँ सामान्य गाँस टिप्न पनि नपाएर सुक्तै गरेको आमाको छाती चुस्ने क्षणिक अवसरमा बाहेक मलाई शिशु अवस्थामा भुइँ छाडेर रमाउने सौभाग्य प्राप्त भएन । कोक्रामा राखेर मच्चाइदिने र बाल्यकालमा हेरचाह गरिदिने व्यक्तिको अभावमा मैले पिँढीमा फलेकले चारैतिर बारेको खोरमा आफ्नो शैशवकाल बिताएछु । मेरो जीवनको जग भुइँमै बसेकाले पनि मलाई भुइँ छाड्दा होइन भुइँमै बस्ता बढ्ता रमाइलो लाग्न थालेको हो ।

दशैँतिहार आउँदा गाउँघरमा कहीँकतै पिङहरू त राखिन्थे होलान् तर रमाएर पिङ खेलेको देख्ने मौका मलाई मिलेन । चारपाँच कक्षा पढ्दा दशैँतिहारका अवसरमा पिङ बाट्नका लागि गाउँभरि बाबियाका मूठाहरू माग्न हिँडेको सम्झना आइरहन्छ तर भुइँ छाडी पिङमा मच्चिएर आनन्दित भएको सम्झना भने मसँग यतिबेला छैन । म हुर्किएको गाउँ भिरालो थियो र त्यहाँ लिङ्गे पिङ राख्न नमिलेर होला हाँगे पिङ राखिन्थ्यो । बाबियाले बाटेको लठ्ठा विशेषगरी चौताराका ठूलठूला वरपीपलका हाँगामा बाँधेर हाँगे पिङ राखिन्थ्यो । पिङ खेल्न सजिलो होस् भनेर बाँस वा काठको सानो पिर्का पनि पिङमा राखिन्थ्यो । नडराउनेहरू उभिएर आपैmले पिङ मच्चाउँथे र दुवैजना एकैचोटि उभिई आपैmले मच्चाएर पिङ खेल्दा हेर्नेहरूलाई पनि निकै रमाइलो लाग्थ्यो । पिङ खेल्न डराउनेहरू पिर्कामा बसेपछि अरूले नै बिस्तारै बिस्तारै पिङ मच्चाइदिन्थे । म पनि सानो छँदा पिङमा बसेपछि अरूले बिस्तारै हल्लाइदिएर एकदुई पटक पिङ खेलेजस्तो लाग्छ । आफै मच्चिन नसक्ने व्यक्तिले अरूकै सहारामा मच्चिएर पिङ खेल्नुको आनन्द प्राप्त गर्न सकिँदो रहेनछ भन्ने कुराको अनुभूति मलाई त्यतिबेलादेखि नै हुन थालेको हो । यसरी एकातिर डरले र अर्कातिर आफै मच्चिन नसकेका कारण दशैँतिहारमा मलाई भुइँ छाड्न मन नलागेको हो ।

विद्यार्थीकालमा एकपटकभन्दा अर्कोपटक शैक्षिक भ्रमणमा जाने अवसर मलाई प्राप्त भएन, त्यो पनि कर्मचारी भएका अवस्थामा । दाङमा कर्मचारी छँदा म प्राइवेट विद्यार्थीका रूपमा आचार्य ९स्नातकोत्तर० तहको विद्यार्थी पनि थिएँ र मलाई साथीहरूले शैक्षिक भ्रमणमा संलग्न हुने अनुमति दिएका थिए । त्यतिबेला ९वि।सं। २०५२० दाङबाट सुदूर पश्चिमको कञ्चनपुर हुँदै पश्चिमका पाल्पा र गोर्खा मनकामनासम्मको भ्रमण गरिएको थियो । त्यतिखेर गोरखा मनकामना मन्दिरमा जानका लागि केवलकारको व्यवस्था भइसकेको थिएन । त्यसैले म साथीहरूसँग पहिलोपटक साढे दुई घण्टाको पैदल यात्रा गरी मनकामना मन्दिर पुगेको थिएँ । केवलकारको व्यवस्था भएपछि पैदल मार्गबाट मनकामना दर्शन गर्न जानेहरूको सङ्ख्या शून्यप्रायः भएकाले मैले तीनपटकसम्म केवलकारबाट मनकामना मन्दिरको दर्शन गर्न पुगेको थिएँ र मनकामनाको दर्शन गर्ने निहुँमा मैले तीनपटक भुइँ छाडेको थिएँ । यसरी मैले भुइँ छाडे पनि मलाई उभ्याउने केवलकारका खम्बाहरू भने भुइँमै अडिएका थिए । केवलकारमा दश मिनेटको यात्रा गर्दा कानहरू थुनिएजस्ता भएका थिए । बागलुङको बलेवा र पर्वतको कुस्मालाई जोड्ने यान्त्रिक पुल तर्दा पनि मलाई भुइँ छाडेको अनुभूति भएको थियो तर केवलकारमा जस्तो झ्याल बन्द नभएकाले होला कान थुनिएजस्तो चाहिँ भएन । भुइँ छाड्ने रहरले भन्दा पनि आफ्नै गाउँको यान्त्रिक पुल तर्दाको अनुभव लिन मैले एकपटक मात्र यान्त्रिक पुलको प्रयोग गरेको थिएँ ।

पिङ, केवलकार र यान्त्रिक पुलबाट भुइँ छाड्दाका केही अनुभव सँगाले पनि वास्तविक भुइँ छाड्दाको अनुभव भने मसँग र हाम्रो परिवारमा समेत थिएन । युवाहरूको वैदेशिक पलायनलाई रोक्न नेपाल सरकारसमेत असमर्थ भइरहेको परिस्थितिमा मैले पनि आफ्नो एकमात्र छोरालाई रोक्न असमर्थ भएँ । हाम्रो परिवारमा आगम बाबुले अस्टे«लिया जाँदा पहिलोपटक भुइँ छाडेको पन्ध्र दिन नबित्तै नेपालस्थित भारतीय राजदूतावासले मलाई पनि भुइँ छाड्ने अवसर प्रदान ग¥यो । २०७५ चैत्र ४ गते बिहान ८स्४० बजे भरतपुरबाट अन्तरराष्ट्रिय संस्कृत सम्मेलनका सहभागी साथीहरूसँगै मैले पनि सर्वप्रथम भुइँ छाडेँ । हामी चढेको बुद्ध एयरमा १८ सिटमात्र थिए । मलाई माइक्रो बसका सिटमा बसेजस्तो अनुभव भयो । विमानमा चढेपछि मुख नचलाउने हो भने कान बन्द भएजस्तो हुँदो रहेछ । त्यसैले विमानपरिचारिका ९एयर होस्टेज० ले स्वागतपूर्वक चकलेटलगायतका खानेकुराहरू मुखमा राख्न दिँदा रहेछन् । केवलकारमा चढ्दा पनि यसरी नै मुख चलाइराख्न सके कान थुनिएको जस्तो आभास हुने थिएन ।

दार्शनिक व्यक्तिका लागि अन्तिम सिट निकै उपयोगी र सार्थक मानिन्छ । म व्याकरणको विद्यार्थी भएकाले अन्तिम सिटमा बसेर पनि त्यसलाई सार्थक बनाउने प्रयत्न गर्न सकिनँ । विमानका यात्रीहरूलाई भन्दा मैले झ्यालबाट नेपालको प्रकृति, पहाडका एकाध घरहरू, सहर उन्मुख गाउँहरू र कंक्रिट नै कंक्रिटको जङ्गलमा परिणत भएका नगर र महानगरलाई नियाल्नमा आफ्ना आँखालाई अभ्यस्त बनाएँ । पहाडहरू झरेर बेसी भएको र बेसीहरू झरेर काठमाडौं उपत्यकाको कंक्रिट जङ्गल परिणत भएको रहेछ । स्वदेशको कंक्रिट जङ्गललाई उपेक्षा गरेर विदेशलाई स्वर्ग ठान्नेहरूको कमी नहोला र स्वर्ग ठानेर विदेशिएका नेपालीहरू पनि वास्तविकरूपमा सुखी र आनन्दित छैनन् होला भन्ने अनुभूति १८ मिनेटको विमानयात्राका क्रममा मनमा खिचिएका तस्बिरहरूबाट मैले प्राप्त गरेँ ।

आन्तरिक (डोमेस्टिक) उडानभन्दा वैदेशिक उडान गर्दा बसको लामो यात्राजस्तै विमानयात्रा पनि पट्यार लाग्दो हुन्छ होला । यात्रीहरूलाई ट्रान्जिट हुने ठाउँमा समय बिताउन गाह्रो हुन्छ होला । महिनौँ अघिदेखि टिकट काटे पनि उडानका समयमा सिट छैन भनेर यात्रीहरूबाट अनैतिकरूपमा रकम असुल्ने दुर्नियतसमेत वैदेशिक यात्राको अनुभव सँगालेकाहरूले व्यक्त गरेको सुनिन्छ । जहाँ सुविधा त्यहाँ द्विविधा र समस्याहरू पनि सँगसँगै निम्तिनु अस्वाभाविक होइन । छोटो दूरीको यात्रा भएकाले होला मलाई त्यस्ता कुनै पनि द्विविधा र समस्याले ग्रस्त बनाएनन् । पहिलोपटक विमान चढ्दा लागेको थोरै डर पनि फर्किने बेलामा प्रायः हटिसकेको थियो ।

खे चरतीति खेचरः अर्थात् आकाशमा घुम्ने पक्षीलाई खेचर भनिन्छ । घुम्न त आकाशमा चन्द्र, सूर्य, बादल, वायु र ताराहरू पनि घुम्छन् तर विमान, वायुयान वा व्योमयानलाई चराहरूले आफ्नै मार्गमा हिँडेको रुचाउँदैनन् । त्यसैले चराहरूसँग कतै आपूm चढेको विमानको जम्काभेट पो हुन्छ कि भनेर मेरो मन विचलित भइरह्यो तर त्यस्तो काल्पनिक संयोगबाट बच्न पाएकामा सकुशल भुइँ भेटिने भयो भनेर मेरो मन निकै खुसी पनि भयो ।

जतिसुकै छोटो वा लामो समयमसम्म आकाशमा उडे पनि चराहरू आफ्नै गुँडमा फर्र्किर बस्न मन पराउँछन् । मलाई पनि चराहरूलाई जस्तै कति छिटो भुइँमा रहेको आफ्नै गुँडमा फर्किन पाइएला भन्ने चाहनाले छटपटी बनायो । पढाइका नाममा विमानको लामो यात्रा गरेर विदेश गएका युवाहरू आफ्नै भुइँकै गुँड सम्झिएर किन फर्किन नरुचाएका होलान् भन्ने जिज्ञासाले मेरो मनमा आँधी पनि ल्यायो । मेरो मनको छटपटी र आँधीबाट बेखबर भएर होला मैले भुइँ छाड्दा ‘तेरो भुइँ छाड्ने हैसियत छैन’ भनेर मेरो आलोचना पनि भयो । भुइँमान्छे भएकाले मलाई आफ्नै भुइँ प्रिय छ र मैले यही भुइँलाई आफ्नो पैताला टेक्ने मजबुत आधार ठानेको छु । ‘माता भूमिः पुत्रोऽहं पृथिव्याः’ ९अथर्ववेद १२।१।१२० अर्थात् भूमि वा भुइँ मेरी आमा हुन् र म त्यही भुइँ वा पृथिवीको पुत्र हुँ । त्यसैले मलाई काल्पनिक आकाश होइन आमाको वास्तविक काख वा भुइँ नै प्रिय छ ।

कसैले खुट्टा छाड्छन्, कसैले मुख छाड्छन् त कसैले हात छाड्छन् तर धेरैले वर्तमानमा भुइँ छाड्न रुचाउँछन् । त्यसैले संयोगवश वा कहिलेकाहीँ भुइँ छाड्नेलाई हाम्रो समाजले आलोचना गर्न मन पराउँछ । जसले जेजति आलोचना र प्रत्यालोचना गरिरहे पनि मलाई भने भुइँ छाड्न मन छैन । भुइँ छाड्नुपर्दा मेरो मन कहिल्यै रमाउन सक्तैन किनकि म भुइँ छाड्न सक्ने हैसियतको मान्छे हुँदै होइन ।

(गैंडाकोट–१, विकासचोक, नवलपुर)

प्रतिक्रिया दिनुहोस