चितवनमा एसईई परीक्षाको तयारी पूरा

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०७५, १५ : ५९
चितवनमा एसईई परीक्षाको तयारी पूरा

चितवन । राष्ट्रिय परीक्षाबोर्डबाट सञ्चालित एसईई परीक्षा भोलिबाट देशैभरी सञ्चालन हुँदैछ । बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा परेको छ । 
चितवनबाट यस वर्ष ११ हजार २ सय ५४ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षा सञ्चालन गर्नको लागि विभिन्न स्थानीयतहमा रहेका विद्यालयमा ४२ वटा केन्द्र तोकिएको शिक्षा विकास समन्वय इकाइले जनाएको छ । गतवर्ष १२ हजार १ सय ५० जना विद्यार्थीले एसईई दिएका थिए । यस जिल्लाबाट नियमित तर्फ ११ हजार ७ जना विद्यार्थी सहभागी हुनेछन् । जसमध्ये छात्रा ५ हजार ५ सय ५ र छात्र ५ हजार ५ सय २ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका नायव सुब्बा रघुनाथ अधिकारीले जानकारी दिए । त्यसैगरी नयाँ ग्रेड वृद्धितर्फ ५४, पुरानो ग्रेड वृद्धिमा ४१ र प्राविधिक धारतर्फका १ सय ५२ जना परीक्षार्थी रहेको अधिकारीले बताए । खुल्लातर्फ १४ जना परीक्षार्थी छन् । 

प्राविधिकतर्फका विद्यार्थीका लागि भरतपुर–१ आँपटारीमा रहेको स्मल हेभन मोडल स्कुल, खुल्लाका विद्यार्थीलाई बालकुमारी माविमा परीक्षा केन्द्र तोकिएको छ । चितवनमा ९७ सामुदायिक, संस्थागत १ सय २२, प्राविधिक ६ र १ खुल्ला गरी २ सय २६ वटा विद्यालय रहेका छन् ।

यस वर्ष भरतपुर कारागारबाट परीक्षा दिने परीक्षार्थी नभएको बताइएको छ । स्मल हेभन मोडल स्कुलमा अध्ययन गरेर पछिल्लो समय सानोठिमीस्थित बालसुधार गृहमा रहेका एक विद्यार्थीले त्यहीँबाट र पितृशोकमा परेका लमजुङका दरेश पौडेलले गृह जिल्लाबाटै परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिए । ती विद्यार्थीले रत्ननगरस्थित श्रीरामवैदिक गुरुकुलममा अध्ययन गर्थे । 

६ जनादृष्टि विहीन परीक्षामा सहभागी
नारायणी नमुना मावि भरतपुर र झुवानी माविमा अध्ययनरत ६ जना दृष्टि विहीन विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । जसमध्ये ४ जना छात्रा र २ जना छात्र रहेको बताइएको छ ।

५२ जना परीक्षा बाट वञ्चित
यसवर्ष चितवनमा ५२ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । उनीहरुको ७५ प्रतिशत हाँजिरी नपुगेकोले परीक्षा दिन नपाउने भएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सिंखडाले बताए । गतवर्ष ७५ प्रतिशत हाँजिरी नपुगेका ९७ जना विद्यार्थीहरु परीक्षाबाट वञ्चित भएका थिए । यस वर्ष चितवनमा एक विद्यालयमा एउटा मात्रै केन्द्र तोकिएको र एक केन्द्रमा १ जना केन्द्राध्यक्ष, दुईजना सहायक केन्द्राध्यक्ष र अन्य निरीक्षक रहेको सिंखडाले बताए । 
परीक्षालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि एक केन्द्रमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । जसमा जनपथ र सशस्त्रका प्रहरीहरु रहने उनले बताए ।

परीक्षाकेन्द्रको शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीयतहको शिक्षामहाशाखाका कर्मचारी, शिक्षकका पेसागत संघसंगठनका प्रतिनिधि र पत्रकारले अनुगमन गर्नेछन् । अनुगमनमा जान समन्वय इकाइबाट अनिवार्य रुपमा पास लिनुपर्ने हुन्छ । यसै गरी कक्षा ८ को आधारभूत तहको परीक्षा पनि भोलीबाट सुरु हुँदैछ । यस वर्षदेखि उक्त परीक्षा स्थानीयतहले सञ्चालन गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस