अक्सफोर्ड कलेजको छलकपटले बीई सिभिलका ८४ विद्यार्थी अलपत्र

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०७५, १७ : २४
अक्सफोर्ड कलेजको छलकपटले बीई सिभिलका ८४ विद्यार्थी अलपत्र

चितवन । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट गैंडाकोटले गरेको छलकपटका कारण ८४ जना विद्यार्थी अलपत्रमा परेका छन् । कलेजले बीई सिभिलका सन् २०१४ ब्याचको तेस्रो सेमेस्टर र पाँचौ सेमेस्टरमा हुने प्रयोगात्मक परीक्षा प्रोजेक्ट १ र २ को प्राप्तांक पोखरा विश्वविद्यालयमा नपठाउदाँ यस्तो समस्या आएको हो ।
पीडित विद्यार्थीहरुले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजले यथार्थ कुरा बाहिर नल्याएसम्म कलेजमा तालाबन्दी जारी रहने बताएका छन् । विद्यार्थीहरुले सोमबारदेखि कलेज प्रशासनमा तालाबन्दी गरेका छन् ।
सन् २०१६ मै तेस्रो सेमेस्टरको प्रयोगात्मक परीक्षाको परिक्षाफल नआएपछि विद्यार्थीले कलेज प्रशासनलाई सोधपुछ गर्दा सधँै टालटुल पारेरमात्र पठाउने गरेको विद्यार्थी जायश्वर आर्चायले बताउनु भयो । ‘कलेजले हामीलाई नक्कली प्राप्तांक देखाउँदै सधैँ टा¥यो’ उहाँले भन्नुभयो, ‘हामीलाई अझैपनि वास्तविक कुरा कलेजले भनेको छैन । हाम्रो भविष्य अलपत्र पार्ने कलेजको अधिकार छैन ।’
कलेजका प्रिन्सिपल हरि भण्डारीले सामान्य विषय हो भन्दै विद्यार्थीलाई विश्वस्त पार्न खोजेपनि पोखरा विश्वविद्यालयले पुनः प्रयोगात्मक परीक्षा दिनुपर्ने बताउँदै आइरहेको छ । प्रयोगात्मक परीक्षाको प्राप्तांक समयमै नपाउदाँ यस्तो समस्या आएको भन्दै पीडित विद्यार्थीले कलेजले सम्पूर्ण क्षतिपूर्ति बेहोर्नु पर्ने माग राखेका छन् ।
यही समस्याका कारण ३ जना विद्यार्थीहरु मौका परीक्षामा सहभागी हुन पाएनन् । त्यस्तै चैत २० गते पोखरा विश्वविद्यालयले आयोजना गर्ने दीक्षान्त समारोहमा सहभागी हुन बञ्चित भएपछि विद्यार्थीहरु २ दिनदेखि आन्दोलित बनेका छन् ।
विद्यार्थीहरुले नतिजाको विषयमा कलेजसँग जानकारी लिन खोज्दा नतिजा प्रकाशन भइसकेको जानकारी कलेजका प्रिन्सिपल भण्डारीले बताउँदै आएका थिए । भण्डारीको भनाइ अनुसार विद्यार्थीहरुले २०७५ पुस १७ गते ट्रान्सक्रिप्टको लागि विश्वविद्यालयमा कागजपत्र बुझाएका थिए । ट्रान्सक्रिप्ट पाउने समय १५ दिन भए पनि यही लापरवाहीका कारणले आजसम्म विद्यार्थीहरुले ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् । 
स्रोतका अनुसार कलेजले पहिला पनि समयमै प्रयोगात्मक परीक्षाको प्राप्तांक पठाउने गरेको थिएन । यस्ता समस्याको विश्वविद्यालयका पूर्वरजिष्ट्रारले समधान गरे पनि अहिलेका राजिष्ट्रारले नमानेपछि विश्वविद्यालय र कलेजको आन्तरिक द्वन्द्वका कारण यस्तो समस्या आएको बताइन्छ ।
विश्वविद्यालय र कलेजको आन्तरिक द्वन्द्वका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने अर्का विद्यार्थी सागर पाठकले बताउनु भयो । ‘कलेजले परीक्षा छुटेका ३ जना विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गराउनु पर्छ’ उहाँले भन्नुभयो, ‘सधैं झुटो कुरा गरेर हामीलाई छलकपट गर्ने छुट छैन । समस्या समधान नगरे कलेजविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्छौं ।’
विद्यार्थीहरुले कलेज प्रशासनसँग यथाशीघ्र नतिजा प्रकाशन गराउनु पर्ने र मौका परीक्षा दिन छुटेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउनु पर्ने माग राखेका छन् । अब कुनै बहानामा चुप लागेर नबस्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस