भूकम्प दिवस र सुरक्षाको प्रश्न

मंगलबार, ०२ माघ २०७४, १३ : ३८

१९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा अाज देशभर विभिन्न जिल्लामा २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रम आयोजना गरिएको छ । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । यसवर्ष भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ रहेको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउने गरेको छ । दिवस मनाउन गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सरकारी निर्देशन अनुसार विभिन्न जिल्लामा भूकम्प सुरक्षा दिवस मनाइएको छ । भूकम्प दिवसमा मात्र भूकम्प र यसबाट बच्न के गर्ने भन्ने चर्चा हुने गरेको छ ।
वर्षभरमा विभिन्न दिवस मनाइन्छ । यस्ता दिवस मनाउनुको सार्थकता तबमात्र रहन्छ, जब हामीले दिवसको नाराअनुसार काम गर्छौं । यसपालिको भूकम्प दिवसका लागि तय गरिएको नाराले समुदाय र स्थानीय सरकारलाई भूकम्पीय सुरक्षाको बलियो आधार मानेको छ । यसको अर्थ भूकम्पका जोखिमलाई न्यूनीकरण गर्न र भूकम्पबाट सुरक्षित रहन समुदाय र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ भन्ने नै हो । तर, व्यवहारमा समुदाय र स्थानीय सरकार मिलेर भूकम्पको जोखिम न्यूनीकरणतर्फ प्रभावकारी काम गरेको पाइँदैन । भूकम्प प्रतिरोधी संरचनाको निर्माणले मात्रै पनि भूकम्पबाट हुने धनजनको नोक्सानी रोक्न सकिन्छ । यसतर्फ सरोकारवालाले ध्यान केन्द्रित गरेर भूकम्प प्रतिरोधी घर तथा अन्य संरचनाको निर्माण कार्यलाई प्रभावकारी बनाउनु आवश्यक छ ।
२०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । चितवनसहित अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो । यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गर्नुभयो । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल अहिले विवादमा छ । भूकम्पले भत्किएका जनताका घरमध्ये धेरैजसो ठाउँमा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पपछिका तीन वटा वर्षा र जाडो कष्टकररुपमा बिताएका भूकम्प पीडितले आउँदो वर्षासम्म सुरक्षित ओत पाऊन् भनेर सरकारले प्रभावकारी काम गरेमा मात्र भूकम्प दिवसले सार्थकता पाउनेछ । -पुष्कर

प्रतिक्रिया दिनुहोस