चितवनको रामपुरमा इञ्जिनीयरिङ पढाइ

विहीबार, २३ फागुन २०७५, ११ : ४४
चितवनको रामपुरमा इञ्जिनीयरिङ पढाइ

चितवन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो । 

सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले त्यहाँ पढाउँदै आएको कृषि क्याम्पस स्थानान्तरण गरेको थियो । दुई विश्वविद्यालयबीचको विवाद समाधानका क्रममा रामपुरमा त्रिविले इञ्जिनीयरिङ सङ्काय सञ्चालनका लागि ४० बिघा जग्गा पाउने भएको छ । सोही जग्गामा भरतपुर महानगरसँग सहकार्य गरेर इञ्जिनीयरिङ क्याम्पस खोल्न लागिएको हो । 

त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले आउँदो शैक्षिकसत्रबाट रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालनमा ल्याइने बताउनुभयो । सो क्षेत्रको स्थलगत निरीक्षण एवं अध्ययन भइरहेको भन्दै उहाँले कुनै एउटा विषयबाट भए पनि आउँदो शैक्षिकसत्रबाट पढाइ शुरु गर्ने बताउनुभयो । रामपुरमा इञ्जिनीयरिङ पढाइका लागि भरतपुर महानगर सकारात्मक देखिएपछि त्रिविलाई सजिलो भएको हो । विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायका डिन रामचन्द्र सापकोटाले रामपुरमा रहेको पुरानो कभर्डहलको भवनलाई मर्मतसम्भार गरी क्याम्पसको शुभारम्भ गर्ने तयारी गरिएको बताउनुभयो । 

विश्वविद्यालयले नीतिगत निर्णय गरेर कामलाई अगाडि बढाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । रामपुरमा रहेको अरु जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई छोड्दै गर्दा त्रिविको इञ्जिनीयरिङ सङ्कायका लागि रु १५ करोड सरकारले दिने सहमतिसमेत भएको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले विश्वविद्यालय र महानगरको बीचमा सम्झौता गरी संयुक्तरूपमा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । तत्काल भौतिक संरचनाका लागि आवश्यक पर्ने बजेटका लागि पनि महानगर तयार रहेको भन्दै उहाँले स्थानीय तहले विश्वविद्यालयसँग सहकार्य गरेर नमूना क्याम्पस सञ्चालन गर्न लागिएको बताउनुभयो । 

त्रिविको इञ्जिनीयरिङ सङ्कायमा चार आङ्गिक र १० सम्बन्धन दिएर क्याम्पस सञ्चालनमा छन् । सम्बन्धन पाएका सबै क्याम्पस राजधानीमा छन् भने आङ्गिक धरान र पोखरामा पनि छ । रामपुरमा आङ्गिक क्याम्पस सञ्चालन भएसँगै विद्यार्थी लाभान्वित हुने देखिन्छ । रामपुरमा एउटा विषयबाट शुरु गरेर सात विषयसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । रामपुरमै कृषि क्याम्पससमेत भएकाले शुरुमा कृषि इञ्जिनीयरिङबाट पढाइ शुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस