भूकम्पले क्षति पुत्याएका चितवनका विद्यालयहरु धमाधम निर्माण हुँदै

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, ११ : ५३
भूकम्पले क्षति पुत्याएका चितवनका विद्यालयहरु धमाधम निर्माण हुँदै

–सुमन गैरे
भरतपुर । भूकम्पले क्षति पु¥याएका चितवनका सामुदायिक विद्यालयहरुमा पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको छ । जिल्लाका विभिन्न ३६ वटा सामुदायिक विद्यालयहरुमा झन्डै १९ करोडको लागतमा भवन निर्माण सुरु भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा शिक्षाको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवनले विद्यालयमा भवन निर्माणको काम सुरु गरेको हो । आयोजना कार्यान्वयन इकाइ प्रमुख भक्तबहादुर सुन्च्युरीका अनुसार १८ करोड ८० लाख १ हजार ४ सय रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गर्न लागिएको हो ।
उक्त आयोजना अन्तर्गत २० वटा पक्की भवन, १३ वटा २ कोठे र ३ वटा तीन कोठे भवन निर्मार्णाधिन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख सेन्चुरीले जानकारी दिए । भूकम्पले क्षतविक्षत भएका १२ वटा मावि र अन्य आधारभूत विद्यालयहरुमा निर्माण कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले बताउनुभयो ।

माडीको जनकल्याण मावि, राष्ट्रिय आधारभूत विद्यालय, दक्षिण अयोध्यापुरी, बघौडा, दिवाकर स्मृति विद्यालय एवम् रत्ननगरका चित्रसारी मावि, विन्देश्वरी आधारभूत प्रावि, मालपुर मावि र जनजागृति मावि पिठुवामा भवन निर्माण कार्य सुरु भएको सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै राप्तीका बुद्धशान्ति मावि, कान्देश्वरी, बालज्योति आधारभूत विद्यालय, भरतपुर महानगर अन्तर्गत घैलाबारीको आधारभूत विद्यालय, मनिपुर, कविलास आधारभूत विद्यालय, भीनगर मावि, पहारिलोटारको भानु मावि, इन्द्रपुरीको मावि, नारायणी मावि, बाह्रघरे मावि, सरस्वती मावि, भरतपुर मावि, भरतपुर २२, भरतपुर २६, भरतपुर १५ र भरतपुर २९ रहेका आधारभूत विद्यालयमा भवन निर्माण कार्य सुरु गरिएको आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

त्यस्तै भूकम्पले भत्काएका कालिका नगरपालिकाको वडा नं. ३, ६, १० मा, खैरहनी नगरपालिकाको वडा नं. ३, ६, ८ रहेका आधारभूत विद्यालय इच्छाकामना गाउँपालिका वडा नं. ७ मा रहेको देउराली आधारभूत विद्यालयमा पनि भवन निर्माण कार्य सुरु गरिएको बताइएको छ ।
विद्यालयका उक्त भवनहरु भवन निर्माण आचारसंहिता अनुसार बने नबनेको अनुगमन र निगरानी गर्नका लागि इन्जिनियरको नेतृत्वमा पाँचजना प्राविधिकहरु परिचालन भएको सवइन्जिनियर किरण सुवेदीले बताउनुभयो । निर्मार्णाधीन सबै भवनहरुको यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढेको उहाँले जानकारी दिनुभयो । वैशाख महिनासम्म ८० प्रतिशत काम सम्पन्न हुने उहाँले बताउनुभयो ।
त्यसैगरी आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा विभिन्न विद्यालयका ४६ वटा कक्षा र चालु आवमा १ सय १५ वटा कक्षाकोठा निर्माण गरिएको पनि सवइन्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस