अबको शिक्षा व्यावहारिक र प्राविधिक : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०७५, १७ : ३६
अबको शिक्षा व्यावहारिक र प्राविधिक : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको शिक्षा व्यावहारिक र प्राविधक हुनुपर्ने बताउनुभएको छ । 
बालकुमारी कन्या मावि नारायणगढको ५७ औं वार्षिकोत्सव समारोहमा महानगर प्रमुख दाहालले अब भरतपुर महानगरका विद्यालयहरुले क्रमशः व्यावहारिक र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘अब विद्यालयहरु गुणस्तर वृद्धिमा लाग्नुपर्छ, शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्छ ।’ 

कार्यक्रममा महानगर प्रमुख दाहालले सामुदायिक विद्यालयहरुको अवस्था खस्किरहेको हुनाले यसलाई सुधार गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले नगर शिक्षा ऐन पारित गरेर कार्यान्वयन चरणमा लगेको छ, गुणस्तर वृद्धिको लागि प्रअहरुको बैठक गरिरहेका छौँ ।’ कार्यक्रममा उहाँले राज्यको ठूलो लगानी शिक्षामा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय भौतिक रुपमा सम्पन्न छ, विद्यालयको आम्दानी धेरै छ, तर पनि गुणस्तर बढ्न सकेको छैन ।’ उहाँले विद्यालयको गुणस्तर बढाउन निर्देशनसमेत दिनुभयो । 
कार्यक्रममा विद्यालयका प्रअ हेरम्बकुमार श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले जिल्लाको शिक्षाको अवस्थाबारे जानकारी गराउँदै शिक्षामा राज्यको लगानी नपुगेको बताउनुभयो । 

कार्यक्रममा अपुरो भवन निर्माणमा सहयोग गर्ने स्व. सूर्यबहादुर मास्केको परिवारलाई सम्मान गरिएको थियो । स्वा. मास्केका परिवारले अब बन्न लागेको अपुरो भवन निर्माण निर्माण गर्ने भएका छन् । सो स्कुललाई उपरदाङबाट नारायणगढसम्म स्व. मास्केको पहलमा ल्याइएको थियो । 
कार्यक्रममा छिमेकी विद्यालय आदिकवि भानुभक्त माविका प्रअ विष्णुप्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष जिएन चौधरीलगायतले मन्तव्य दिएका थिए । २०१८ सालमा स्थापना भएको यस विद्यालय २०७४ को एसइईमा १४ औं स्थानमा थियो ।  


 

प्रतिक्रिया दिनुहोस