समृद्धि हासिल गर्न शिक्षाको ठूलो भूमिका : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, १६ : १९
समृद्धि हासिल गर्न शिक्षाको ठूलो भूमिका : राष्ट्रपति भण्डारी

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि हासिल गर्न शिक्षाको ठूलो भूमिका रहने बताउनु भएको छ । चितवनको नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।
‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ’ उहाँले भन्नुभयो, ‘शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकोले शैक्षिक संस्थाहरु यसमा संवेदनशील बन्नु पर्छ ।’
राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयहरुको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उहाँले मुलुकको सामाजिक, आर्थिक र समृद्धिको यात्रामा विद्यालयले सहयोग पु¥याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
राज्यले सार्वजनिक शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको भन्दै राष्ट्रपति भण्डारीले मुलुकलाई अति कम विकसित राष्ट्रबाट कम आय भएको राष्ट्रमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘बालबालिकालाई उच्चस्तरीय राष्ट्रिय भावनाबाट प्रेरित गर्न शिक्षा क्षेत्र संकल्पित हुनु पर्छ ।’
राष्ट्रपति भण्डारीले नदी कटानलाई रोकी बालुवा आदि स्रोतको संरक्षण गर्दै नजिकका जमिनको सदुपयोग गर्नु पर्ने औंल्याउनु भयो । ‘जलवायु परिवर्तनको प्रतिकुल प्रभाव सर्वत्र परिरहेको सन्दर्भमा नदी कटानलाई व्यवस्थित गरी जलवायु अनुकुलनका काम गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले आधारभुत तहको शिक्षा निःशुल्क र अनिवार्य एवं माध्यमिक तहको शिक्षा निःशुल्क बनाउनेतर्फ सरकार लागेको बताउनु भयो । उहाँले शिक्षा जनताको अधिकार भएको बताउँदै शिक्षामा आमूल परिवर्तन गर्ने गरी राज्य लागेको जानकारी गराउनु भयो ।
चिकित्सा शिक्षामा सुधारका लागि अनसन बस्नु भएका डा. गोविन्द केसीले पनि नसोचेको कुरा संसदबाट पारित चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘दस वर्षभित्र नाफामुखी कुनै पनि संस्थाले चिकित्सा शिक्षा पठाउन नपाउने व्यवस्था विधेयकमा उल्लेख छ ।’
भरतपृुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र रहेका विद्यालयको स्तरोन्नतिको लागि महानगरले आवश्यक ऐन, नियम पारित गरेर काम गरिरहेको बताउनु भयो । ‘महानगरको शैक्षिक उन्नतिका लागि आवश्यक काम गर्दै आइरहेका छौं’ उहाँले भन्नुभयो, ‘विद्यालयको उन्नतिको लागि आवश्यक सहयोग महानगरबाट हुनेछ ।’
कार्यक्रममा विद्यालयलाई सहयोग गर्नु हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीप्रसाद अधिकारी, पूर्वअध्यक्ष शैलेन्द्र पिया, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा, चन्दादाता उद्योगी, व्यवसायी सनतकुमार पिया, विनोदकुमार श्रेष्ठ, कमला श्रेष्ठ, मुक्ति सरला पिया, लक्ष्मी कँडेल, श्रीराम पाण्डे, बद्री विमला अधिकारी, रामप्रसाद भट्ट, आत्माराम श्रेष्ठ, टंकनाथ पौडेल, तीर्थलाल श्रेष्ठ लगायतलाई कदरपत्र वितरण गरिएको थियो ।
२०२५ सालमा बालकुमारी कन्या स्कुलको शाखाको रुपमा स्थापना भएको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ तथा प्राविधिकतर्फ ४८ जना गरी कूल एक हजार ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वामित्वमा एक बिघा १६ कठ्ठा जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस