यौन दुव्र्यवहारको आरोपमा प्राचार्य पक्राउ

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १८ : ४९
यौन दुव्र्यवहारको आरोपमा प्राचार्य पक्राउ

मुकुन्दपुर । एसईई परीक्षाका लागि होस्टलमा बसेर तयारी गरिरहेका आफ्नै विद्यालयका छात्राहरुमाथि यौनहिंसामा संलग्न भएको आरोपमा एक विद्यालयका प्राचार्यलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ ।

CG Hills

गैंडाकोट नगरपालिका वडा नम्बर ११ मा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलमा एसईई परीक्षाको तयारी गरिरहेका छात्राहरुलाई सोही विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले यौन दुव्र्यवहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीले बताउनु भयो ।

मदिराको मातमा प्राचार्य पौडेलले छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप स्थानीय अभिभावकले लगाएका छन् । स्थानीय अभिभावकका अनुसार प्राचार्य पौडेलको दुव्र्यवहार विद्यार्थीहरुले चुपचाप सहेर बस्न बाध्य भएपनि सहन नसक्ने भएपछि उनीहरुले आफ्ना अभिभावकलाई प्राचार्य पौडेलको कुकृत्यबारे बताएका हुन् । 

घटनाको विरोधमा स्थानीय अभिभावकले विद्यालय घेरेपछि फरार रहेका प्राचार्यलाई प्रहरीले पक्राउ गरेपछि म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक जीसीले बताउनु भयो । आक्रोशित अभिभावकले प्राचार्य पौडेलमाथि हातपात समेत गरेका थिए । कानुन बमोजिम प्राचार्य पौडेललाई कडा कारबाही गर्न र विद्यालय अन्यत्र सार्न अभिभावकले चेतावनी दिएका छन् ।

प्याब्सन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाले प्राचार्य पौडेलले गल्ती गरेको भए कारबाही हुने बताउनु भयो । घटनाको सत्यतथ्य छानबीन गरी प्रतिवेदन सार्वजनिक गर्न गैंडाकोट नगरपालिका ११ का वडाध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा छानबीन समिति गठन गरिएको र उक्त समितिले काम थालेको अध्यक्ष देवकोटाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस