सोह्रौ महिला राष्ट्रिय लिग फुटबलः त्रिभुवन आर्मी क्लब पराजित

रासस

मंगलबार, २५ पुस २०७४, १९ : ५१
सोह्रौ महिला राष्ट्रिय लिग फुटबलः त्रिभुवन आर्मी क्लब पराजित

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद(राखेप) च्याम्पियनसिपअन्तर्गत सोह्रौँ महिला राष्ट्रिय लिग फुटबलको सुपर लिग खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  आर्मीकी कप्तान कृष्णा खत्रीले खेलको पहिलो हाफको १७औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा एक गोलले अगाडि रहेको आर्मीको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफमा एपिएफले दुई गोल फर्कायो । खेलको ५०औँ मिनेटमा एपिएफकी अनिता केसीले एक गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

त्यस्तै खेलको ८२औँ मिनेटमा अनिता बस्नेतले थप एक गोल गरेपछि एपिएफको जित सुनिश्चित हुनपुग्यो । सुपर लिगमा एपिएफको लगातार यो दोस्रो जित हो भने आर्मीको पहिलो हार हो । एपिएफले यसअघि सुपर लिगमा सुदूर पश्चिमाञ्चलाई पराजित गरेको थियो ।

त्यस्तै आर्मीले पुलिसलाई हराएको थियो ।  त्यस्तै सोही मैदानमा आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस