निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध उजुरी आव्हान

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १२ : १९
निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया थालेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा साथै गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।

उनीहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।

आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गर्ने योजना छ ।

बैठकमा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा नभइ प्रक्रिया पुर्‍याएर अघि बढाउन आग्रह गरे । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रूपमा नै सुनुवाइ गर्नुपर्ने धारणा राखिन् ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाइको विगतको अभ्यास अनुसार अघि बढ्न सुझाए ।

सांसदहरूको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रूपमा नै पर्याप्त छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाइने बताए ।

संवैधानिक परिषद्को असार १९ गतेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस