काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुन:स्थापित गरिएको बताएका छन् ।
उनले भने, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको छ ।”
हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा सञ्चार मन्त्री डा तिमिल्सिनाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको छ र यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिए । उनले भने “ सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्त्व भने अझै कायम रहेको छ । डिजिटाइजेसनले हुलाक सेवाको महत्त्व घटाएको छैन । बरु समयअनुकूल आधुनिकीकरण गर्दै सेवा विस्तार गर्नुपर्ने आवश्यकता बढेको छ । ”
सरकारी सेवाको प्रभावकारिता बढाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सबै काम सरकारले एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको धारणा राखे ।
त्यस्तै, हुलाक सेवाको कमजोर बन्दै गएको संस्थागत छविलाई सुधारका लागि कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको बताए । सञ्चार मन्त्री डा. तिमिल्सिनाले भने, “हुलाकले आफैँलाई परिवर्तन गरेर फरक ढंगले सेवा दिन सक्नुपर्छ । सुधारको पहिलो आधार संस्थाभित्रकै इच्छाशक्ति हो । हुलाक सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सरल, सहज र विशिष्टीकृत बनाउनुपर्छ । ”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०८३, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना